१४ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा सम्पन्न अन्तर वडा स्तरीय प्रथम मेयर कप खुल्ला भलिवल प्रतियोगिता २०८० को उपाधी भोजपुरको आमचोक गाँउपालिका वडा नम्बर ८ ले जितेको छ । प्रतियोगितामा उदयपुर, खोटाङ्ग र भोजपुर जिल्लाका छिमेकी पालिकाका वडाहरुको भलिवल टिमको समेत सहभागिता रहेको थियो ।
माघ १२ गतेबाट शुरु भएको ३ दिने प्रतियोगिता अन्तर्गत आज वडा नम्बर १ चौदण्डीगढी दरवारस्थित मैदानमा भएको फाईनल खेलमा भोजपुरको आमचोक गाँउपालिकाको टिमले आयोजक चौदण्डीगढी नगरपालिका वडा नम्बर १ को टिमलाई २५–२२, २६–२४ र २५–१८ ले पराजित गरेको छ । शारिरिकरुपमा बलियो देखिएको चौदण्डीगढीका खेलाडीहरु टिम स्प्रिटमा अब्बल रहेको आमचोकको टिमसंग ३–० को सोझो सेटमा पराजित भएको छ । उपाधीसंगै आमचोकले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उप विजेता आयोजक चौदण्डीगढीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै बेलका नगरपालिकाको वडा नम्बर ६ को टिमलाई २–० को सोझो सेटमा पराजित गरेको जन्तेढुंगा गाँउपालिकाको वडा नम्बर १ को टिम भने तेश्रो भएको छ । तेश्रो हुने टिमले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।
विजेताहरुलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राई, वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राई लगायतले पुरुस्कार वितरण गरेका थिए । यस्तै कार्यक्रममा आयोजकले वडामा भलिवलको बिकास होस् भन्ने हेतुले चौदण्डीगढी वडा नम्बर १ मा रहेका बिभिन्न टोल विकास समितिका प्रतिनीधिहरुलाई एक एक थान भलिवल पनि प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले चौदण्डीगढी नगरपालिकाले सबै खेलको बिकास होस् भन्ने उदेश्यले नगर खेलकुद विकास समिति र वडा खेलकुद विकास समिति मार्फत बिभिन्न खेल गतिविधी संचालन गरिरहेको जनाउदै भलिवलको बिकासमा पनि नगरले सहयोग गर्ने बताएका थिए । कार्यक्रम चौदण्डीगढी नगरपालिकाको सहयोगमा वडा नम्बर १ वडा खेलकुद विकास समितिले आयोजना गरेको थियो । 


