शैक्षिक गुणस्तर सुधारको बिकल्प छैनः नगर प्रमुख कालुमान लामा

१९ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरको चौदण्डीगढी नगरपालिकाले सामुदायिक बिद्यालयहरुमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यालय तथा २०७९ सालको एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बिद्यार्थीहरुलाई सम्मान गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाले सामुदायिक बिद्यालय र त्यहाँ अध्ययनरत बिद्यार्थीहरुलाई हौसला प्रदान गर्ने अभिप्रायले आज बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यालय र बिद्यार्थीलाई सम्मान गरेको हो ।

चौदण्डीगढी नगरपालिकामा संचालित १९ वटा माध्यमिक तह स्तरीय सामुदायिक बिद्यालयहरु मध्ये वडा नम्बर ९ स्थित जनता माबि हडिया पहिलो भएको छ भने वडा नम्बर ४ स्थित नारद आदर्श मावि बसहा दोश्रो र वडा नम्बर ६ स्थित ज्योती मावी बेल्टार तेश्रो भएको छ । यस्तै २०७९ सालको एसईई परिक्षामा ३.७ जिपिए ल्याएर नगर मै सबैभन्दा बढी अंक ल्याउने बिद्यार्थी बनेकी ज्योती मावि बेल्टारकी सिसम कार्की पहिलो, ३.६८ जिपिए ल्याएकी नारद आदर्श माबी बसहाकी टिना कुमारी विक दोश्रो र ३.६५ जिपिए ल्याएका जनता मावी हडियाका विवेक शाह र होम बहादुर राउत तेश्रा भएका छन् । उत्कृष्ट बिद्यालयलाई सम्मान पत्र तथा उत्कृष्ट बिद्यार्थीहरुलाई नगद क्रमशः २० हजार, १५ हजार र ५–५ हजार रुपैयाँ र प्रमाणपत्र सहित सम्मान गरिएको छ । २०७९ सालको एसईईमा १९ वटा सामुदायिक बिद्यालयका ७७० जना बिद्यार्थीले परिक्षा दिएकोमा ७१९ जना उतिर्ण भएका थिए । उत्कृष्ट हुनेहरुलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेल, शिक्षा शाखा प्रमुख रामेश्वर कुँवर लगायतले सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नगरको शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर लागिरहेको जनाउदै त्यही क्रममा केही बिद्यालयहरुको घटुवा गरेको , शिक्षकहरुको सरुवा र दरवन्दी मिलान गरिएको बताएका छन् । उनले नगरपालिकाले सबैलाई नगरको शिक्षाको गुणस्तर सुधारमा भागेदारी बनाउन अभिभावक सहयोग कार्यक्रम संचालन गर्ने र अपुग शिक्षक थप गर्ने प्रक्रियामा काम गरिरहेको जानकारी दिएका छन्् । यस्तै नगर प्रमुख लामाले सुधार हुन नसक्ने बिद्यालयलाई मर्ज गर्नेसम्मको बिकल्पमा नगरले निर्णय गर्ने पनि जनाएका छन् । शैक्षिक गुणस्तर सुधारको बिकल्प नरहेको नगर प्रमुख लामाको भनाई छ । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख मणिकादेवी दुलालले बिद्याथीहरुलाई राम्रो बनाउनमा प्रधानाध्यापक, शिक्षक र अभिभावकको भुमिका महत्वपुर्ण रहेको बताएकी छिन् । उप प्रमुख दुलालले बिद्यालय अनुगमनकाक्रममा वालविकास केन्द्रको अबस्था नाजुक रहेकोले त्यसमा सुधार गर्नुपर्ने र सम्बन्धित बिद्यालयहरुले यस बिषयमा संवेदनशिल भएर जिम्मेवारीपुर्वक काम गर्नूपर्ने बताएकी छिन् । कार्यक्रममा शिक्षा शाखा प्रमुख रामेश्वर कुँवर, जनता मावि हडियाका प्रधानाध्यपक रामबहादुर राउत, आनन्ददेव चौधरी, उत्कृष्ट बिद्यार्थी सिसम कार्की लगायतले पनि आफ्नो धारणा राखेका थिए ।