२० माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…
दुई महिनाभन्दा बढी समयदेखी उदयपुरको चौदण्डीगढी नगरपालिकाको ब्यापारिक तथा प्रशासनिक केन्द्र बेल्टार बजारको फोहर ब्यबस्थापन हुन नसकेपनि नगरमा क्रियाशिल प्रमुख राजनीतिक दलले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । आज एक प्रेस बिज्ञप्ती जारी गदै नगरका प्रमुख राजनीतिक दलले बजार क्षेत्र भित्रको फोहर करिव दुई महिनाभन्दा बढी समयसम्म पनि ब्यबस्थापन हुन नसकिरहेको र यस बिषयलाई लिएर नगर प्रमुखसंग पटक पटक डिलेकेशन लिएर जाँदा वेवास्ता गरिएको जनाउदै दिनप्रतिदिन बजार क्षेत्रमा दुर्गन्ध फैलिएर संक्रमित रोग फैलिने जोखिम भएकाले ७ दिनभित्र बजार क्षेत्रको फोहर ब्यबस्थापन गर्न आग्रह गरिएको छ ।
बजार क्षेत्रको फोहर ब्यबस्थापन नभएका नगरपालिकाको बिरुद्ध क्रमिकरुपमा दवावमुलक कार्यक्रम संचालन गर्न बाध्य हुने पनि जनाइएको छ । हिजो बेल्टार बजारस्थित बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुनको अध्यक्षतामा बसेकोे सर्वदलीय सर्वदलीय बैठकले बेल्टार बजारको फोहर ब्यबस्थापनबारे छलफल गरेर नगरपालिकाको ध्यानाकर्षण गर्ने निण्र्नय गरेको थियो । सोही बमोजिम उनीहरुले आज बिज्ञप्ती जारी गरेका हुन् । बिज्ञप्तीमा नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, एमालेका नगर ईन्चार्ज राजेन्द्र कुमार कटुवाल, नेकपा माआवादी केन्द्रका नगर सचिव विदुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रमेश बिष्ट, जसपाकी केन्द्रीय सदस्य उर्मिला राई, राप्रपाका नगर अध्यक्ष राम बहादुर खत्री, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष बिशन बिष्ट र बेल्टार बसहा उद्योग वाणिज्य संघका अध्यक्ष कुमार ल्वागुनको हस्ताक्षर रहेको छ ।
यसअघि गत असोज १६ गते नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलीय बैठकले नगरको फोहर मैला ब्यबस्थापनका लागि नगर प्रवक्ता वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतको अध्यक्षतामा नगरमा क्रियाशिल राष्ट्रिय पार्टीका प्रतिनीधि, वडा नम्बर ६ र ७ का प्रतिनीधि, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका प्रतिनीधि, संघर्ष समितिका प्रतिनीधिहरु सदस्य रहनेगरी १५ सदस्यीय फोहर मैला ब्यबस्थापन समिति गठन गरेको थियो । उक्त समितिलाई आगामी फागुन मसान्तसम्म नगरको फोहरमैला ब्यबस्थापनका लागि दिर्घकालिन स्थानको पहिचान गर्ने कार्यदेश दिइएको थियो । त्यस्तै वडा नम्बर ६ स्थित आँपखहरे सामुदायिक वन उपभोक्ता समुहको हाल फोहर फालिरहेको क्षेत्र र यसअघि नगरपालिकाले वडा नम्बर ६ र ९ को सिमानामा निमार्ण गरेको डम्पिङ्ग साईटमा दुर्गन्ध नफैलिनेगरी फोहर ब्यबस्थापन गर्ने सहमति भएको थियो । तर उक्त समितिले दिर्घकालिन डम्पिङ्ग साईटको पहिचान गर्न सकेन भने हाल फोहर फालिरहेको वडा नम्बर ६ स्थित स्थानमा पनि स्थानीयहरुले फोहर फाल्न रोक लगाएपछि बेल्टार बजारको फोहर करिव दुई महिना भन्दा बढी समयदेखी उठ्न सकेको छैन । एता समस्या समाधान गर्न नसकेपछि समितिका रहेका अधिकांश सदस्यले समेत राजीनामा दिएपछि फोहर ब्यबस्थापनको बिषय थप गम्भिर बनेको छ ।
