९ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धीका लागि सरोकारवालाहरुसंग बृहत शैक्षिक अन्तरक्रिया गरेको छ । चौदण्डीगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा आज नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नगरभित्रका सामुदायिक बिद्यालयका प्राधानाध्यक, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष , पिटिए अध्यक्ष लगायतको उपस्थितीमा बृहत छलफल गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि सामुहिक प्रयासको खाँचो रहेको बताउदै अभिभावकहरुको भुमिकालाई पनि समेटिनुपर्ने बताएका छन् । उनले नगरपालिकाले बिद्यालयको सुधारका लागि आफु निर्वाचित भएर आएदेखी नै निरन्तर लागि परेको बताउदै पहिलो बर्ष बिद्यार्थी भर्ना अभियानलाई प्राथमिकता दिएको उल्लेख गर्दै यस बर्ष बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कार्य गर्ने बताएका छन् । नगर प्रमुख लामाले बिद्यालयको सुधारका लागि अघिल्लो बर्ष, बिद्यार्थी भर्ना अभियान संचालन गरिएको, बिद्यार्थी संख्या कम भएको केही बिद्यालयको तह घटुवा गरिएको , शिक्षकहरुको आन्तरिक सरुवा लगायतको कार्य गरेको जनाउदै यस बर्ष बिद्यार्थी शिक्षक अनुपात नमिलेका बिद्यालयहरुमा शिक्षक दरवन्दी मिलान गर्ने, थप शिक्षकको ब्यबस्थाका लागि दरबन्दी थप्ने लगायतको कार्य गर्ने बताएका छन् । उनले यस कार्यका लागि आर्थिक अभाव रहेकोले अभिभावकहरुको सहभागिता आबश्यक रहेको जनाउदै अभिभावक सहयोग” कार्यक्रम संचालन गर्ने तयारी गरेको बताएका छन् । बिद्यार्थीबाट केही शुल्क उठाउने उनको प्रस्ताव छ । बिद्यार्थीबाट प्राप्त भएको रकमबाट थप शिक्षकको ब्यबस्था र आबश्यक बिद्यालयमा शिक्षक दरबन्दी मिलान गर्ने नगरपालिकाको योजना छ ।
छलफलमा केहीले सामुदायिक बिद्यालयमा पढ्न आउने बालबालिका अधिकांश गरिव तथा बिपन्न परिवारका हुने भएकाले उनीहरुले आर्थिक सहयोग गर्न नसक्ने तथा नेपाल सरकारको नीति समेत बिद्यालय शिक्षा निशुल्क भन्ने रहेकोले शुल्क उठाउन कठिनाई हुने मत राखेका थिए भने केहीले निःशुल्क शिक्षा भनेकोले अभिभावकहरुले पनि आफ्नो बच्चाको शिक्षामा ध्यान नदिएको अनुभव भएको बताउदै न्युन्तम शुल्क लिनुपर्ने बताएका थिए । छलफलमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने सरकारी नीति भएपनि अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, उच्च अदालत बिराटनगरको आदेश र केही बिद्यालयले गरिरहेको अभ्यास अनुसार बिद्यार्थीसंग सहयोग रकम लिन सकिने भएकोले ब्यबहारिकरुपमा बिद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि शुल्क लिने सर्वसम्मत सहमति भएको छ ।
आजको छलफलमा भएको सहमतिलाई केही दिनभित्रै नगर शिक्षा शाखाको बैठक बसी निर्णयलाई आधिकारिकता दिईने र वडा शिक्षा समितिबाट निर्णय कार्यवन्यन गरिने जनाइएको छ । आगामी नयाँ शैक्षिक शत्रबाट नियम लागु गरिने शिक्षा शाखाले जनाएको छ ।

