५ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरको चौदण्डीगढी नगरपालिका र खोटाङको बराहापोखरी गाउँपालिका जोड्ने सुनकोशी नदीस्थित बङ्शिलाघाटमा मोटरेवल पक्की पुलको निर्माणकार्य शुरु भएको छ । हिजो चौदण्डीगढी नगरपालिकाका पुर्व नगरप्रमुख खगेन्द्र राई लगायतले निमार्ण कार्यको निरिक्षण गरेका छन् । अहिले पाईलिङ मेशिनले पिलरका लागि जग खन्ने कार्य भैरहेको छ । उदयपुर र खोटाङ्ग जोड्ने महत्वपुर्ण नाकामध्येको एक बंशिलाघाट पुलको जग खन्ने कार्य बुधवारदेखी शुरु भएको हो । एउटा पिलर निर्माणका लागि वरिपरि २४ वटा पाईलिङ गरेर सानो सानो पिलर निर्माण गरिने र सबैलाई जोडेर एक ढिक्का बनाई एउटा पिलर निर्माण हुने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रकाशचन्द्र खरेलले जानकारी दिएका छन् ।
१ सय ५० मिटर लम्बाई र ११ मिटर चौडाईको ५०–५० मिटरको ३ वटा स्पान र ४ वटा पिलर रहने मोटेरेवल पुल बनाउन मूल्य अभिवृद्धि कर (भ्याट) सहित १९ करोड १८ लाख ४१ हजार ४ सय २० रुपैयाँमा ठेक्का सम्झौता भएको छ । ४४ महिनाभित्र बनाइसक्नुपर्ने गरी कालिका–बेदान्सी जेवीले ०७७ साल पुस २८ गते ठेक्का सम्झौता गरेपनि निमार्ण कार्यले भने केही दिनअघिबाट मात्र गती लिएको छ । प्रोजेक्ट म्यानेजर खरेलका अनुसार पुल डिजाईनको एप्रुभलको लागि भण्डै एक बर्षको समय लागेकोले काम शुरु गर्न ढिलो भएको बताएका छन् । अब काम शुरु भैसकेको र यो बर्ष २ वटा पिलर निमार्ण गरिसक्ने बताउदै खरेलले २०८२ साल आषाढ मसान्तसम्ममा पुल निमार्ण कार्य सम्पन्न गरिसक्ने जानकारी दिएका छन् ।
उदयपुर क्षेत्र नम्बर १ का सांसद तथा तत्कालीन परराष्ट्र मन्त्री डा. नारायण खड्काले २०७९ पुस १ गते पुलको शिलान्यास गरेका थिए । पुल निमार्णपछि खोटाङको बराहापोखरी, जन्तेढुङ्गा, खोटेहाङ गाउँपालिका र भोजपुरका केही स्थानीय तहका स्थानीयबासीलाई तराईका जिल्ला आवतजावत गर्न सहज हुनेछ ।
