चौदण्डीगढी नगरपालिकाभित्रको फोहरमैला ब्यबस्थापनको बिषय थप पेचिलो बन्दै !

१ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरको चौदण्डीगढी नगरपालिकाभित्रको फोहरमैला ब्यबस्थापनको बिषय थप पेचिलो बन्दै गएको छ । साविक वडा नम्बर ६ बेल्टार बजार स्थित स–शस्त्र प्रहरी क्याम्प नजिक आँपखरहे सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा रहेको फोहर फाल्ने स्थानमा स्थानीयले फोहर फाल्न रोक लगाएपछि फोहरमैला ब्यबस्थापनको बिषय थप पेचिलो बनेको हो ।नगरपालिकाले वडा नम्बर ६ र ७ को बेल्टार बजार, वडा नम्बर ३ र ४ को बसहा क्षेत्रको फोहर सो स्थानमा ब्यबस्थापन गर्दै आएको थियो ।

गत असोज १६ गते नगरपालिकामा नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलीय बैठकले नगरको फोहर मैला ब्यबस्थापनका लागि दिर्घकालिन स्थानको पहिचान गर्ने र हाल फोहर फालिरहेको क्षेत्र र यसअघि नगरपालिकाले वडा नम्बर ६ र ९ को सिमानामा निमार्ण गरेको डम्पिङ्ग साईटमा दुर्गन्ध नफैलिनेगरी फोहर ब्यबस्थापन गर्ने सहमति गर्दै नगर प्रवक्ता वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतको अध्यक्षतामा नगरमा क्रियाशिल राष्ट्रिय पार्टीका प्रतिनीधि, वडा नम्बर ६ र ७ का प्रतिनीधि, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका प्रतिनीधि, संघर्ष समितिका प्रतिनीधिहरु सदस्य रहनेगरी १५ सदस्यीय फोहर मैला ब्यबस्थापन समिति गठन गरेको थियो । तर समितिले ३ महिनाको अबधीमा केही काम नगरी समय ब्यतित गरेको तथा समितिका अधिकांश सदस्यले राजीनामा दिएपछि फोहरमैला ब्यबस्थापनको बिषय थप पेचिलो बन्दै गएको छ ।

नगरपालिकाले बस्ती नजिक नै फोहर मैला ब्यबस्थापनको लागि घेराबेराको काम शुरु गरेपछि समितिमा रहेका अधिकांश सदस्यहरुले पुर्व सहमति विपरतको कार्य भएको भन्दै राजिनामा दिएका थिए । यसअघि वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादर खड्काको अध्यक्षतामा पुष २२ गते बसेको स्थानीय टोल विकास समितिका पदाधिकारी र सरोकारवालाहरुको बैठकले पुरानो डम्पिङ्ग साईटमा राज्यको लगानी समेत भैसकेकोले फोहर ब्यबस्थापन गर्नुपर्ने निर्णय गरेको थियो ।

हिजो बेल्टार बजारबाट उठाइको फोहरको गाडी वडा नम्बर ६ का स्थानीय बासिन्दाले रोकेपछि केही समय तनाव सृजना भएको थियो । बस्तीछेउ फोहर फालनाले विभिन्न प्रकारको रोगहरु फैलने सम्भावना रहेको तथा दुर्गन्ध फैलिएर घरमा बस्न नसकिने जनाउदै समाबेशी टोल विकास समितिका अध्यक्ष विदुर राई , जनजागृती टोल विकास समितिका अध्यक्ष शंकर थापा , नेपाली कांग्रेस वडा नम्बर ६ का वडा सभापति हिरामणी सेढाइ लगायतको नेतृत्वमा रहेका स्थानीयले कोभिड अस्पताल, स–शस्त्र प्रहरी बेस क्याम्स, ज्योती जनता क्याम्पस नजिकै रहेको तथा हाईवेबाट नजिक रहेको बस्ती छेउमा फोहर फाल्न नदिने बताउदै फोहरको गाडी रोकेका थिए ।

यस्तै आँपखहरे सामुदायिक वनकी अध्यक्ष पुनम राईले पनि नगरपालिकाले वनसंग कुनै सरसल्लाह नगरी वन क्षेत्रमा जवरजस्ती फोहर फालिरहेको बताउदै सो स्थानमा फोहर फाल्न नदिने बताएकी छिन् । उनीहरुले १५ दिनअघिबाटै सो स्थानमा फोहर फाल्न रोक लगाएता पनि नगरपालिकाले आजहिजो फोहर उठाउन गाडी पठाएको थियो । स्थानीयले फोहर फाल्न नदिएपछि वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काको नेतृत्वमा वडा नम्बर ६ र ९ को सिमानामा निमार्ण भएको डम्पिङ्ग साईटमा फोहर फालेको छ । यद्यपी यो स्थानमा समेत ज्यामिरेका स्थानीयले प्रर्दुशन फैल्ने भन्दै विरोध गर्दै आएका छन् ।