२८ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित ज्योती माध्यमिक बिद्यालयले आफ्नो ५८ औं बार्षिकोत्सव भब्यताको साथ सम्पन्न गरेको छ । हिजो बिद्यालयको प्रारंगमा बिशेष कार्यक्रमको आयोजना गरेर बिद्यालयले बार्षिकोत्सव मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नगरले गरिव तथा बिपन्न परिवारका बिद्यार्थीहरुलाई स्नातक तहसम्म नै निःशुल्क छात्रबृतीको ब्यबस्था गर्ने बताएका छन् । उनले नगरपालिकाले बिद्यालय सुधारको कार्यक्रम संचालन गरिरहेको जानकारी दिदै वडा स्तरमै वडा शिक्षा समितिको गठन गरिएको बताएका छन् । नगरपालिकाको श्रोतबाट थप शिक्षकको ब्यबस्था गर्ने बताउदै नगर प्रमुख लामाले शिक्षाको गुणस्तर सुधारका लागि जस्तोसुकै घेराबन्दीमा परेपनि आफु लागिपर्ने दावी गरेका थिए । उनले आबश्यक्ता र औचित्यको आधारमा बिद्यालयको तह घटुवा, समायोजन र शिक्षकको सरुवा लगायतको कार्य गरेको जनाउदै यसले बिद्यार्थी भर्ना दर लगायतमा सकरात्मक प्रभाव परेको दावी गरेका छन् । यस्तै नगर प्रमुख लामाले नगरपालिकाले नीजि बिद्यालयहरुको अनुगमनलाई कडाईका साथ लागु गर्ने बताउदै मापदण्ड पुरा नभएका नीजि बिद्यालयहरुलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् । नीजि बिद्यालयमा शिक्षकको न्युन्तम तलव लागु गरिने पनि नगर प्रमुख लामाको भनाई छ ।
यस्तै पुर्व मेयर खगेन्द्र राईले आफुहरुको बिद्यालयमा अध्ययन गरिरहेको समयभन्दा अहिले शिक्षा क्षेत्रमा ब्यापक परिवर्तण भएको तर राम्रो कामहरुको बारेमा चर्चा नभएको बताएका छन् । उनले अभिभावकहरुले कम्तिमा बर्षको २ दिन बिद्यालयमा गएर शिक्षक, बिद्यालयको वातावरण, सिकाईको बारेमा चासो राख्ने हो भने शिक्षाको गुणस्तरका सुधार आउने बताएका थिए । कार्यक्रममा उप प्रमुख मणिकादेवी दुलाल, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा बिभिन्न प्रकारले सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । बिद्यालयमा अक्षयकोष स्थापना गरिदिने दाताहरु गणेश राई, बक्र बहादुर खड्का, कृष्ण चाम्लिङ्ग, बाबुराम पौडेल, एस एल सी ब्याज २०५२ का बिद्यार्थी समुहलाई सम्मान गरिएको थियो । यस्तै बिद्यालयमा पुर्व शिक्षक तथा हाल ज्योती जनता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मनोज कुमार झा लगायत त्यस बिद्यालयमा अध्यापन गराएर सेवा निवृत भएका र सरुवा भएर अन्य बिद्यालयमा गएका शिक्षक ,कर्मचारीहरु तथा बिद्यालयलाई जग्गा प्रदान गर्ने जग्गादाताको परिवारलाई समेत सम्मान गरिएको थियो । बिक्रम सम्बत २०२२ सालमा स्थापना भएको यस बिद्यालयमा वालविकासदेखी कक्षा १२ सम्म पढाई हुने गरेको छ भने बिद्यालयमा १३ सयभन्दा बढी बिधार्थीहरु अध्ययनरत छन् ।
