चौदण्डीगढी नगरपालिकामा संचालित आँखा शिविरमा ३१९ जनाको आखाँको सफल शल्यक्रिया सम्पन्न ।

 

२५ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार सातधारेस्थित कोभिड अस्पतालमा संचालन भएको आँखा शिविरमा ३१९ जना आखाँको विरामीको सफल शल्यक्रिया गरिएको छ । आज सम्पन्न शिविरमा ३१६ जनाको आखाँको मोतीविन्दु र ३ जनाको आँखामा मासु पलाएकाको अपरेशन गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राईले जानकारी दिएका छन् । राईका अनुसार पुष १६ गते चौदण्डीगढी नगरपालिकाको १० वटै वडालाई समेटनेगरी चौदण्डी, सिद्धिपुर, आमसाल, बर्खेडाँडा, सुन्दरपुर, माडिबास, हडिया, सिर्वानी स्वास्थ्य चौकी तथा कोभिड अस्पताल र छिमेकी बेलका नगरपालिकाको वडा नम्बर ५ खयरवनीस्थित आधारभुत स्वास्थ्य चौकी भवन र वडा नम्बर ७ को मैनामैनीमा मोतियाविन्दु र आँखाको अन्धोपन गराउन सक्ने आँखाका रोग भएका विरामीहरुको छनौट शिविर संचालन गरिएको थियो । जसमा ३ हजारभन्दा बढी नागरिकले आँखाको परिक्षण गराएकोमा ३६८ जनामा मोतियाविन्दु र आँखाको अन्धोपन गराउन सक्ने आँखाका रोग सम्बन्धी समस्या देखिएकोमा ३१९ जनाको आँखाको सफल अपरेशन गरिएको जनाएका छन् । पुष २२ गतेदेखी बेल्टार सातधारेस्थित कोभिड अस्पतालमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंकी बरिष्ठ नेत्र बिशेषज्ञ डाक्टर रिता गुरुङ्ग नेतृत्वको टोलीले आँखाको मोतियाविन्दु भएका बिरामीहरुको निःशुल्क अपरेशन गरेको थियो । नेपाल आँखा कार्यक्रम, तिलगंगा आखाँ प्रतिष्ठान, गौशाला काठमाडौ र चौदण्डीगढी नगरपालिकाको आयोजनामा संचालन भएको शिविरमा अपरेशन गरिएका विरामीहरुका लागि नगरपालिकाले नै खानपान र बासको ब्यबस्था गरेको थियो । विरामीका लागि जाउलो , पानी, कालो चियाको ब्यबस्था आयोजकले नै गरेको वडा अध्यक्ष राई जनाएका छन् ।

शिविर समापनपछि रेडियो चौदण्डीगढीसंग कुराकानी गर्दै नगर प्रमुख कालुमान लामाले नगरबासीको स्वास्थ्यको ख्याल गर्ने कार्य नगरपालिकाको जिम्मेवारी पनि भएकोले नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्नको लागि शिविर संचालन गरिएको बताउदै यस्ले आफ्नो घरदैलो मै विज्ञ डाक्टरकाबाट नै आँखाको परिक्षण गराउने मौका मिलेको साथै ठुला शहरमा रहेका अस्पतालहरुमा गएर उपचार गराउन नसक्ने गरिव, बिपन्न नागरिकले पनि निःशुल्करुपमा उपचार पाउने अवसर पाएको बताएका छन् । उनले नगरबासीको स्वास्थ्य नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको जनाउदै आगामी बर्षहरुमा पनि यस प्रकारको स्वास्थ्य शिविरहरु संचालन गरिने बताएका छन् ।

एता आँखा शिविरमा आँखाको मोतिविन्दुको सफल अपरेशन भएपछि बिरामीहरुले खुशी ब्यक्त गरेका छन् ।नगरपालिकाले गत बर्ष पनि तिलगंगा आँखा प्रतिष्ठानसंगको सहकार्यमा आँखा शिविर संचालन गरेको थियो । जसमा २२५ जना आँखाको विरामीको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको थियो ।