चौदण्डीगढी नगरपालिकामा प्रहरीको आइ डेयर नो ड्रक्स क्याम्पेन सम्पन्न ।

२२ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरमा लागुऔषध सेवनकर्ताको संख्यामा बृद्धी हुदै गएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहकार्यमा हिजो शनिवार चौदण्डीगढी नगरपालिकाको बेल्टारमा लागु औषध सेवन कर्ताको न्युनीकरण अभियान अन्तर्गत औषध सेवन नगर्ने मैले दृढता गरे (आइ डेयर नो ड्रक्स क्याम्पेन) नामक एक दिने कार्यशाला सम्पन्न भएको छ । बेल्टार बजारस्थित सिटी हलमा भएको कार्यक्रममा लागु औषध सेवन गरिरहेको ४२ जना युवायुवतीलाई अबदेखी लागु औषध सेवन नगर्ने प्रतिबद्धता गराएर अभिभावकको जिम्मा लगाइएको छ । प्रमुख जिल्ल अधिकारी हरि प्रसाद घिमिरे, उदयपुर प्रहरी प्रमुख रमेश थापा, चौदण्डीगढी नगरपालिाका नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, त्रियुगा नगरपालिकाकी नगर उप प्रमुख महेश्वरी राई लगायत, संचारकर्मी, पत्रकारको उपस्तिथीमा उनीहरुलाई प्रतिबद्धता गराएर परिवारको जिम्मा लगाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उदयपुर प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक रमेश थापाले लागु औधष सेवनकर्तालाई पक्राउ गरेर कारवाही गरेर मात्र समस्याको समाधान नहुने भएकोले प्रहरीले उनीहरुलाई पारिवारिक वाताबरणमा सुधारेर समाजमा पुनःस्थापित गराउने उदश्यले (आइ डेयर नो ड्रक्स क्याम्पेन) संचालन गरेको बताएका छन् । उनले प्रहरीले लागु औषधको प्रयोग तथा बिक्रीबितरण रोक्नका लागि उदयपुर प्रहरीले सेवनकर्तालाई सुधारेर समाजमा पुनः स्थापित गर्ने (आइ डेयर नो ड्रक्स क्याम्पेन) अभियान र बिक्रीबितरण रोक्नका लागि मिसन ड्रग्स इन्टरसेप्सन (एमडिआई) गरी दुईबटा कार्यक्रम संचालन गरिरहेको जानकारी दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले जिवनमा पटक पटक अवसर नआउने भएको हुनाले पाएको मौकालाई सदुपयोग गरेर अगाडी बढ्नुपर्ने बताएका थिए । अबदेखी कुनै पनि हिसावले लागु औषधमा नाम नजोड्न सेवनकर्ताहरुलाई आग्रह गर्दै लामाले अभिभावकको अनुहार सम्झेर भएपनि लागु औषध छोड्नुपर्ने बताएका थिए । उनले सेवनकर्ताहरुलाई लागु औषधको कुलतबाट छुट्टकारा दिलाउन नगरपालिकाकले सक्दो सहयोग गर्ने आश्बासन दिदै अध्ययन पुरा गर्न चाहनेहरुलाई स्नातक तहसम्मको अध्ययनका लागि नगरपालिकाले सहयोग गर्ने बताएका थिए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले लागुऔषध ओसारपसार, बिक्रीबितरण, सेवनबिरुद्धको कानुन कठोर रहेको जनाउदै अभिभावकहरुले आफ्नो बच्चाहरुको गतिविधीबारे जानकारी राख्नुपर्ने बताएका थिए । कार्यक्रममा चौदण्डीगढी नगरपालिकाकी उप प्रमुख मणिकादेवी दुलाल, त्रियुगा नगरपालिकाकी उप प्रमुख महेश्वरी राई लगायतले पनि लागु औषधको कुलतबाट जीवनमा आईपर्नसक्ने नकरात्मक परिणामको बारेमा आफ्नो धारणा राखेका थिए ।

यसअघि त्रियुगा नगरपालिकामा संचालित कार्यक्रमको प्रतिक्रिया राम्रो देखिएकोले जिल्ला प्रशासन कार्यालयले चौदण्डीगढी नगरपालिकामा पनि कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका लागि नगरको बेल्टार, बसहा, हडिया लगायतको क्षेत्रबाट एक दिन अघि नै सेवनकर्ताहरुलाई पक्राउ गरि ल्याइएको थियो भने उनीहरुलाई लागु औषधका प्रयोगबाट हुनसक्ने परिणामको बारेमा अभिमुखीकरण गरिएको थियो ।