चौदण्डीगढी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने ।

२० पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । हिजो चौदण्डीगढी नगरपालिकाको सभाहलमा नगर प्रमुख कालुमान लामाको अध्यक्षता तथा कोशी प्रदेशका सांसद राजन किरातीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजनागरि अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको हो । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ कार्यान्वयन गरी अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निमित्त कोशी प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन निर्देशिका, २०७६ र सो निर्देशिका बमोजिम सामाजिक विकास मन्त्रालय र करूणा फाउण्डेसन नेपालका बीच २०७६ असोज ०८ गते भएको सम्झौता बमोजिम सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, र सम्झौता हस्ताक्षर भएका पालीकाहरू तथा साझेदार संस्था करूणा फाउण्डेसन नेपालको लागत साझेदारीमा सञ्चालन हुने अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम संचालन सम्बधि सम्झौता गरिएको हो ।

चौदण्डीगढी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएपछी आज नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल र साझेदार संस्था करुणा फाउन्डेसन नेपालको तर्फबाट कार्यकारी निर्देशक दीपकराज सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रम चौदण्डीगढी नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने बताइएको छ । कार्यक्रम यहि माघ ०१ गतेबाट सुरू भई २०८३ पौष मसान्तसम्म सञ्चालन हुनेछ । कार्यक्रमका लागि निर्देशिकामा भएको व्यवस्था बमोजिम पहिलो दुई वर्षसम्म साझेदार संस्थाले मन्त्रालय र पालिकासँगै एक तिहाई लागत साझेदारी गर्नेछ । भने कार्यक्रम सञ्चालनको तेस्रो वर्षमा पालिकाले मन्त्रालयसँग मात्र लागत साझेदारी गर्नेछ र तेस्रो बर्ष साझेदार संस्थाले कार्यक्रम सञ्चालनका लागि पालिकालाई प्राविधिक सहयोग मात्र उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

चौदण्डीगढी नगरपालिकामा ६ सय ४१ जना अपाङ्गता भएका ब्यक्तिको तथ्यांक छ । जस मध्ये १ सय १८ जनाले रातो, ३ सय २३ जनाले निलो, १ सय १९ जनाले पहेलो र ८० जनाले सेतो कार्ड प्राप्त गरेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार चौदण्डीगढी नगरपालिकामा १ हजार ५ सय ६२ जना अपाङ्गता भएका ब्यक्तिहरु रहेको तथ्यांक छ । हिजोको कार्यक्रलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नगरमा रहेका अपाङ्गता भएका ब्यक्तीहरुको बास्तविक तथ्याङ्ग संकलन गरेर त्यसअनुरुपको कार्ययोजना बनाएर अपाङ्गगता भएका ब्यक्तिहरुको संख्या न्युनीकरणका लागि कार्य गर्ने बताउदै करुणा फाउण्डेशनसंगको सहकार्यमा नगरपालिकाले नगरको सबै अंगको परिचालन गरेर परिणाममुखी कार्य गर्ने बताएका थिए । नगर प्रमुख लामाले सबैलाई समान अवसर प्रदान गर्ने वातावरण बनाउने कार्यमा भुमिका खेल्ने बताउदै त्यसलाई ब्यबहारिक रुपमा लागुगर्ने बताएका थिए । यस्तै प्रमुख अतिथि कोशी प्रदेश सांसद राजन किराँतीले उचित शिक्षाको अभाव, रुढीवादी चलनका कारणले अपाङ्गगता भएका ब्यक्तिहरुप्रति सामाजिक सोचाई संकिङ्ग रहेको बताउदै उनीहरुलाई हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याउन कार्यक्रमले योगदान दिने बिश्वास रहेको बताउदै आफ्नो तर्फबाट कार्यक्रमको सफलताको लागि सक्दो सहयोग गर्ने आश्बासन दिएका थिए ।

कार्यक्रममा शाारिरिकरुपमा अपाङ्गता रहेका चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का सुजित खतिवडालाई नगरपालिकाले सो अबसरमा उनको माग बमोजम क्यासियो किबोर्ड प्रदान गरेको थियो ।