त्रियुगा नदीमाथीको भत्किएको पुलको पुनःनिमार्णको काम शुरु नगरिए मन्त्रालयमै धर्ना बस्ने चेतावनी ।

२० पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथीको भत्किएको पुलको पुनःनिमार्णको काम शुरु नगरिए मन्त्रालयमै धर्ना बस्ने चौदण्डीगढी नगरपालीकाबाट काठमाडौं गएका प्रतिनीधि मण्डलले चेतावनी दिएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालीकाबाट काठमाडौं गएका नगरका अगुवा राजनीतिज्ञ, ब्यापारी, ब्यबसायीहरुको प्रतिनीधि मण्डलले साढे २ बर्षअघी भत्किएको वडा नम्बर ५ को सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथीको मोटरेवल पुलको पुनःनिमार्णका बिषयमा ध्यानाकर्षण गराउन संघीय यातायात मन्त्री प्रकाश ज्वालासंग भेट गरेका छन् । हिजो भौतिक पुर्वाधार तथा यातायात मन्त्री ज्वालालाई भेट गर्दै प्रतिनीधि मण्डलले ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझाउदै चौदण्डीगढी नगरपालीकाका पुर्व मेयर खगेन्द्र राईले आफु यस पुलको सिलान्यासदेखी नै जोडिएको बताउदै २०६६ सालमा सम्झौता भएको पुल शिलान्यास गर्ने पुर्वमन्त्री विजय कुमार गच्छदार मन्त्रीबाट उपप्रधानमन्त्री भैसकेको, डिजी सचिव भैसकेको, सांसद डाक्टर नारायण खड्का २ पटक मन्त्री भैसकेको र आफु मन्त्रीको पिएदेखी मेयर भैसक्दा पनि पुल नबनेको बताउदै पुलको कारणले हुनुपर्ने बिकास रोकिएको बताएका थिए। उनले पुल नबन्दा आफुहरु नै के गर्ने भन्ने अन्यौलमा रहेको जनाएका छन् ।

यस्तै डेलिकेशनमा गएका वडा नम्बर ५ का वडा अध्यक्ष तुलसी ढकालले ब्युरोक्रेसीले डेमोक्रेसीलाई पछाडी धकेलिरहेको महसुस भएको बताउदै पुल पुनः निमार्णको प्रतिबद्धता नआउनजेलसम्म मन्त्रालयमा धर्ना बस्न बाध्य हुने बताएका थिए।

मन्त्री ज्वालाले  ज्ञापनपत्र बुझ्दै सिवाई– बेल्हा जोड्ने पुल निर्माणबारे मन्त्रालयमा दिनदिनै छलफल भइरहेको बताउदै पुल निर्माणको काम नयाँ शिराबाट सुरू हुने बिश्वास रहेको बताएका छन् । यसअघि बुधवार प्रतिनीधि मण्डलले प्रतिनीधि सभाका सभामुख देवराज घिमिरे र शिक्षा मन्त्री अशोक राईलाई भेटेर पुल पुनः निर्माणमा सहयोग मागेका थिए । चौदण्डीगढी नगरपालिका वडा नम्बर–५ सिवाई–बेल्हा जोड्ने पुल २०६६ सालमा शिलान्यास भई आर्थिक बर्ष २०७७–७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो । तर २०७८ साल असार १९ गते आएको बाढीले पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अहिले अलपत्र अवस्थामा रहेको छ । केही महिनाअघि पनि संघीय सांसद डा. नारायण खड्कासहितको प्रतिनीधिले पनि यातायात मन्त्री ज्वालालाई भेटेर पुलको पुनःनिमार्णका लागि आग्रह गरेका थिए । त्यसबेला पनि मन्त्री ज्वालाले दशैतिहारपछि नै पुल पुनःनिमार्ण शुरु हुने आश्बासन दिएका थिए । तर अझै पनि काम शुरु हुन सकेको छैन ।