१९ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

नेपाल मगर संघ चौदण्डीगढी नगर कमिटीको अगुवाईमा उदयपुरको बेल्टार बजार सातधारे सशस्त्र प्रहरी क्याम्प नजिकै पुल छेउमा बुद्धको मुर्ति स्थापना गरिएको छ । हिजो एक कार्यक्रमका बीच बौद्ध परम्परा अनुसार पुजा गरी वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले मुर्तीको अनावरण गरेका छन् । मदन भण्डारी लोकमार्गमा रहेको पुल छेउमा अस्वाभाविकरुपमा सडक दुर्घटना हुने गरेको जानकारी दिदै नेपाल मगर संघ चौदण्डीगढी नगर कमिटीका अध्यक्ष चित्र केप्छाकी मगरले यस स्थानबाट शान्तिको सन्देश जाओस र सकरात्मक उर्जा प्रभाव होस् भन्ने भावनाले बुद्धको मुर्ति स्थापना गरिएको बताएका छन् । मगर समुदायका ब्यक्तिहरुबाट स्वतस्फूर्तरुपमा आर्थिक सहयोग संकलन गरी करिव एक लाख २० हजारको लागतमा मुर्ति स्थापना गरिएको अध्यक्ष केप्छाकीमगरले बताएका छन् । मुर्ती स्थापनापछि टोल बिकास समितिहरुबाट यस क्षेत्रलाई संरक्षण गर्ने उदेश्यले हरियाली पार्कसहितको पर्यटकिय स्थान बनाउनुपर्ने सुझाव आएकाले मगर संघले त्यसको कार्ययोजना बनाएर अगाडी बढ्ने उनले जानकारी दिएका छन् । संघले केशव मगरको अध्यक्षतामा निर्माण समिति गठन गरेर आर्थिक सहयोग संकलन गरेको थियो । मुर्तीको अनाबरण गर्दै वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले विश्वका शान्तिका दुत भगवान गौतम बुद्धको उपदेश व्यवहारमा लागु गर्न सकेमा जीवन सहज बन्न सक्ने बताएका छन् । शान्ति जीवनको अपरिहार्य आबश्यकता रहेकाले यस स्थानबाट भगवान बुद्धको शान्तिको सन्देश प्रवाह होस् भन्ने उनले शुभेक्क्षा राखेका थिए ।
