फोहरमैला ब्यबस्थापन समितिका अधिकांश सदस्यहरुद्वारा सामुहिक राजिनामा ।

१९ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

 

उदयपुरको चौदण्डीगढी नगरपालिकाभित्रको फोहरमैला ब्यबस्थापनका निम्ती नगरपालिकाले गठन गरेको फोहरमैला ब्यबस्थापन समितिका अधिकांश सदस्यहरुले सामुहिक राजिनामा दिएका छन् । समितिका सचिव विदुर राई, सदस्यहरु गोपाल मगर, शंकर थापा, गोमा गजुरेल सेढाई लगायत अधिकांश सदस्यहरुले समितिका अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउतलाई राजीनामा दिएका छन् । उनीहरुले समितिका सदस्यहरुसंग सरसल्लाह नगरी पुरानै बस्ती नजिक वडा नम्बर ६ को आँपखहरे बन क्षेत्रमा नगर स्तरीय डम्पिङ्ग साईट निमार्णका लागि काम थालिनु पुर्व सहमति विपरित भएकाले नैतिकताका आधारमा सामुहिक राजीनामा दिएको बताएका छन् । गत पुष ८ गते उनीहरुले सामुहिक राजीनामा दिएका हुन् ।

यसअघि गत असोज १६ गते नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलीय बैठकले नगरको फोहर मैला ब्यबस्थापनका लागि नगर प्रवक्ता वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतको अध्यक्षतामा नगरमा क्रियाशिल राष्ट्रिय पार्टीका प्रतिनीधि, वडा नम्बर ६ र ७ का प्रतिनीधि, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका प्रतिनीधि, संघर्ष समितिका प्रतिनीधिहरु सदस्य रहनेगरी १५ सदस्यीय फोहर मैला ब्यबस्थापन समिति गठन गरेको थियो । उक्त समितिलाई आगामी फागुन मसान्तसम्म नगरको फोहरमैला ब्यबस्थापनका लागि दिर्घकालिन स्थानको पहिचान गर्ने कार्यदेश दिइएको थियो । त्यस्तै वडा नम्बर ६ स्थित आँपखहरे सामुदायिक वन उपभोक्ता समुहको हाल फोहर फालिरहेको क्षेत्र र यसअघि नगरपालिकाले वडा नम्बर ६ र ९ को सिमानामा निमार्ण गरेको डम्पिङ्ग साईटमा दुर्गन्ध नफैलिनेगरी फोहर ब्यबस्थापन गर्ने सहमति भएको थियो । तर अहिले नगरले बस्ती नजिकको वन क्षेत्रमा समितिका सदस्यहरुको सहमति नलिई निमार्ण कार्य थालेपछि सचिव राई सहितका अधिकांश सदस्यहरुले राजीनामा दिएका छन् । नगरपालिकाले वडा नम्बर ६ र ९ को सिमानामा निमार्ण गरेको डम्पिङ्ग साईट प्रयोगविहिन छ भने यसअघि आँपखहरे सामुदायिक वन क्षेत्रमा फाल्ने गरिएको फोहर पनि स्थानीय दुरगन्ध फैलिएको भनेर रोक लगाएपछि एक हप्तादेखी बेल्टार बजारको फोहर उठन सकेको छैन ।