उदयपुरको बेल्टारमा पनि ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईयो ।

१७ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हिजो उदयपुरको बेल्टारमा पनि एक कार्यक्रमको आयोजना गरेर मनाएको छ । आफूमाथि मृत्युदण्डकै सजायसमेत हुन सक्ने आठ वटा मुद्धा चलिरहेका बेला आफू राष्ट्रिय एकताका लागि जीवन अर्पण नै गर्न समेत तयार भएको भन्दै मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला २०३३ साल पुस १६ गते स्वदेश फिर्ता आएका थिए । त्यही दिनको सम्झनामा कांग्रेसले प्रत्येक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ ले आज चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजारस्थित क्षेत्रीय पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरेर ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति खगेन्द्र राईको सभापतित्वमा भएको कार्यक्रममा सहभागीहरुले विपी कोईरालाको योगदान र पार्टी जीवनको बारेमा आफ्ना भनाई राखेका थिए । कार्यक्रमको सुरुवात गर्दै सभापति राईले मेलमिलाप दिवस पार्टीको लागि एउटा पर्व जस्तो रहेको भएता पनि पार्टीमा रहेको गुट उपगुटका कारण प्राथमिकतामा नपरिरहेको बताएका थिए । उनले मेलमिलाप दिवस राष्ट्रिय स्तरमै महत्वपुर्ण रहेको बताए । सभापति राईले आजको दिन मन माझामाझ गर्ने दिन भएकाले केही कमी कमजोरी भए त्यसलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने बताएका थिए । यस्तै नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ क का सभापति अर्जुन खड्काले पार्टीमा विवादभन्दा पनि एकता आबश्यक रहेको र त्यसलाई ब्यबहारमा उतार्नुपर्ने बताएका थिए ।

त्यस्तै अन्य सहभागीहरुले पार्टीको टिकटबाट स्थानीय तहको चुनाव जितेका जनप्रतिनीधिहरु पार्टीको नीतिअनुरुप चल्न नसकेको बताएका थिए भने पार्टी नेतृत्वले सबैलाई समेटेर लानुपर्ने बताएका थिए । पार्टीको बिभिन्न पदमा भएर पनि बैठकमा सहभागी नभएकाहरुप्रति कटाक्ष गर्दै उनीहरुले जिम्मेबारी लिएका प्रतिनीधीहरु पार्टीको काममा निस्क्रिय रहने गरेकाले त्यस्ता प्रतिनीधिहरुले जिम्मेवारीबाट अगल भएर काम गर्नेलाई छोड्दिनुपर्ने बताएका थिए । कार्यक्रममा नेताहरु भोजराज खतिवडा, जनक कार्की, जीतमान राई, विवस राई, शंकर थापा लगायतले आफ्नो धारणा राखेका थिए ।