निर्वाचनका बेला घात, अन्तर्घात नगर्ने प्रण गर्ने हो भने गठबन्धन आबश्यक छैनः डा. नारायण खड्का

३  पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ को क्षेत्रिय सम्मेलन हिजो उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा सम्पन्न भएको छ । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ क्षेत्रिय कार्यालयको आयोजनामा १४ औं अधिबेशन पछिको प्रथम क्षेत्रिय सम्मेलन हिजो सम्पन्न भएको हो । उदयपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय साँसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

क्षेत्रिय सभापति खगेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले पार्टीभित्रको गुट उपगुट तथा गठबन्धनका बिषयमा आफ्ना धारणाहरु राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा. खड्काले निर्वाचनका वेला घात, अन्तर्घात नगर्ने प्रण गर्ने हो भने गठबन्धन आबश्यक नभएको बताएका छन् । उनले पार्टीको बिधानकै कारण गुट उपगुट निमार्ण हुने गरेको र पार्टी सभापतिले गुट निमार्ण गर्ने नेताहरुसंग डराउनुपर्ने अबस्था रहेका बताएका थिए । त्यस्तै पार्टीको अहिलेको बिधानले काम नगर्ने भन्दै बिधान परिवर्तन गर्नुपर्ने उनको सुझाव थियो । डा. खड्काले जनता बिद्रोही मानसिकतामा रहेको भन्दै जनताले नायक खोजिरहेकाले पार्टीले साहशिक निर्णय गर्नुपर्ने बताएका थिए । उनले प्रबिधि मैत्री बनाएर पार्टीलाई अगाडी बढाउनुपर्ने समेत धारणा राखेका थिए । यस्तै जिल्ला सभापति हिमाल कार्कीले कम्युनिस्टहरुसङ गठबन्धन गर्नु नितिगत हिसाबले गलत हुनपनी सक्ने तर केन्द्रले गरेको निर्णयलाई मानेर अगाडि बड्नु पर्ने बताएका थिए । जिवन्त पार्टीमा गुट उपगुट हुनु सामान्य भएकाले त्यसलाई सहज रुपमा लिनुपर्ने तर स्थायी रुपमा गुट बनाउन नहुने कार्कीले बताएका थिए । उनले पार्टीमा गुटको नाममा असन्तुष्ट भएर निर्वाचनका बेला रुख छापमा भोट नहाल्नु अपराध भएको धारणा समेत राखेका थिए । जिल्ला सभापति कार्कीले नेताहरुका कारण जनतामा केही निराशा छाईरहेका बेला नयाँ पार्टीहरु खुलेको भएपनि नीति सिद्धान्त केही नभएका नयाँ पार्टीहरु टिकाउ नहुने दाबी समेत गरेका थिए । नेपाली कांग्रेसको संगठन मजबुत बनाउन सबैले आ आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले सत्ताका लागि मात्र कम्युनिष्टहरुसंग गठबन्धन भएकाले यसले कांग्रेसलाई भबिश्यमा क्षति पुग्ने बताउदै कांग्रेसले आफ्नो नीति सच्याउनुपर्ने बताएका थिए । गत चुनावमा गठबन्धनका उम्मेदवारका रुपमा उठेका माओवादी र एकिकृत समाजवादीका उम्मेदवार बिरुद्ध उम्मेदवारी दिने कांग्रेसका नेताहरुलाई कार्वाही गरेकामा असन्तुष्टी ब्यक्त गर्दै बस्नेतले अहिले भने काग्रेसकै नेताहरुले बिपक्षीहरु संग मिलेर नगर सरकारको बिरोध गरेकोमा आपत्ती समेत जनाएका थिए । नेपाली कांग्रेस उदयपुरका जिल्ला सचिव मुरारी खड्काले सम्मेलनमा अनिवार्य उपस्थित हुनुपर्ने क्षेत्रिय प्रतिनिधि, वडा सभापतिहरुको न्युन उपस्थितिप्रति ध्यानाकर्षण भएको जनाउदै यसको कारण गुट उपगुट रहेको बताएका थिए । यस्तै कार्यक्रममा कोशी प्रदेश महामन्त्री उमेश थापा, कोशी प्रदेश सहमहामन्त्री बिनोद बस्नेत , कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ, बेलका नगरपालिकाका मेयर अशोक कार्की, प्रदेशसभा १ क का सभापति अर्जुन दाहाल, चौदण्डीगढी नगर समितिका कार्यवाहक सभापती नारायण प्रसाद चौधरी, क्षेत्रिय सभापति खगेन्द्र राई, पुर्व क्षेत्रिय सभापति भोजराज खतिवडा लगायतले आफ्नो धारणा राखेका थिए ।

पार्टीको संगठनको बिषयमा छलफलका निम्ति बोलाइएको सम्मेलनमा बोल्ने अधिकांश नेताले गुट, उपगुट र सत्ता गठबन्धनका बारेमा बोलेपछि संगठनको बिषय ओझेलमा परेको थियोे । कार्यक्रममा प्रदेशसभा १ क का सभापति अर्जुन दाहालले प्रदेश समितिले गरेका कामहरुका बारेमा प्रतिबेदन समेत प्रस्तुत गरेका थिए ।यस्तै कार्यक्रममा नेपाली कांग्रेसका वयोवृद्ध नेता तथा अगुवा समाजसेवी चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ निवासी गम्भीर बहादुर राईलाई सम्मान समेत गरिएको थियो । डा. खड्काले दोसला ओढाएर राईलाई सम्मान गरेका थिए ।