प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि उदयपुरमा खेलाडी छनौट गरिदै ।

५ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

जिल्ला क्रिकेट संघ उदयपुरले आगामी माघ महिनाको पहिलो साता काठमाडौंमा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि उदयपुर जिल्लाबाट सहभागी हुने खेलाडीको छनौट गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । आगामी पुष ७ गतेदेखी ९ गतेसम्म सदरमुकाम गाईघाटमा हुने जिल्ला छनौटका लागि ईक्छुक खेलाडीहरुलाई आवहान गरेको छ ।

खेलाडीहरुले पुष ५ गतेभित्र आफ्नो नाम टिपाई सक्नुपर्ने जिल्ला क्रिकेट संघ उदयपुरका सदस्य दिपक खनालले जानकारी दिएका छन् । खनालले जिल्ला छनौटका लागि कटारी नगरपालिका र त्रियुगा नगरपालिकाबाट एक–एक वटा टिम सहभागी हुने बताउदै चौदण्डीगढी र बेलका नगरपालिकाबाट समेत एउटा टिम बनाउने प्रयास भइरहेकोले चौदण्डीगढी र बेलका नगरपालिकाका खेलाडीहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् । खनालले चौदण्डीगढी र बेलका नगरपालिकाबाट छनौट खेलमा सहभागी हुन चाहने खेलाडीहरुले संयोजक मिथुन ठाकुर वा जिल्ला क्रिकेट संघ उदयपुरका अध्यक्ष एल्विन बस्नेतसँग सम्पर्क गर्न सक्ने जनाएका छन् । जिल्ला छनौट खेल पुष ७ गतेदेखी ९ गतेसम्म सदरमुकाम गाईघाट, बरुवा बसपार्कस्थित खेल मैदानमा हुने जिल्ला क्रिकेट संघ उदयपुरले बताएको छ ।