बेल्टार बजारबाट खोटाङ जिल्ला जोड्ने बङ्शिलाघाटसम्म नियमितरूपमा बस संचालन हुने ।

३० मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

अन्तर जिल्ला नाकाहरु जोड्ने चौदण्डीगढी नगरपालिकाको नीति अनुरुप आजदेखि उदयपुरको बेल्टार बजारबाट खोटाङ जिल्ला जोड्ने बङ्शिलाघाटसम्म नियमितरूपमा बस संचालन हुने भएको छ । बेल्टार बजारबाट बिहान ८ः३० बजे र दिउँसो १ः३० बजे गाडी छुट्ने छ भने बङ्शिलाघाट्बाट बिहान ११ बजे र दिउँसो ४ बजे गाडी संचालन हुने गाडी संचालक संजीव रौनियारले जानकारी दिएका छन् । हिजो बाटोको अबस्था हेर्न गाडीसहित संचालक रौनियारको टोली बेल्टारबजारबाट बङ्शिलाघाटसम्म केही यात्रुहरुसमेतलाई लिएर गएको थियो । बाटोको अबस्थामा ठिकै रहेको र केही स्थानहरुमा भने मोड सुधार र बाटो मर्मतको कार्य गर्नुपर्ने अबस्था रहेको उनले बताएका छन् । यद्यपी अहिलेको अबस्थामा यात्रुबहाक बस संचालन गर्न सकिने रौनियारले जानकारी दिएका छन् । तर हिजो बाटोको अबस्था हेरेर फर्केको गाडीलाई केही टेम्पो ब्यबसायीले अबरोध गर्ने प्रयास गरेको गाडी संचालक रौनियारले बताएका छन ।

उदयपुरलाई खोटाङ्ग जिल्लासंग जोड्ने रणनीतिक बाटो रहेको बंशिलाबाटसंग यात्रुबहाक बस संचालन भएमा खोटाङ्गका पुर्वी भेगमा जनताले सुबिधा पाउने छ भने उनीहरुको बेल्टार बजारसंगको पुरानो भावनात्मक सम्बन्ध पनि जोडिने छ । खोटाङ्ग भोजपुरका पुर्वी भागका जनताको किनमेल गर्ने पुरानो बजार बेल्टार रहेकोले यस क्षेत्रका बासिन्दाहरुको बेल्टार बजारसंग भावनात्कम सम्बन्ध रहेको छ भने पुर्वको ठुला शहरहरु विराटनगर, धरान, काकडभिट्टा, दमक आवतजावत गर्न पनि बेल्टार भएर जाँदा छोटो दुरी पर्दछ । समय र पैसाको वचत हुने भएकोले यस क्षत्रेका बासिन्दा पनि बंशिलाघाट भएर यात्रुबहाक बस संचालन भएको हेर्न चाहन्छन् । एता चौदण्डीगढी नगरपालिकाले पनि नगरलाई छिमेकी जिल्लाहरुसंग जोड्न अन्तर जिल्ला नाकाहरु जोड्ने नीति अनुरुप खोटाङ्ग जिल्लालाई जोड्ने बेल्टार धाप्लाङ्गघाट र बेल्टार बंशिलाघाटसम्मको बाटो मर्मत गर्ने प्रतिबद्धता जनाएको छ । नगर प्रमुख कालुमान लामा यसअघि आफैले स्थानीय पत्रकार, ब्यापारी , ब्यबसायी, राजनीतिज्ञ, यातायात ब्यबसायीसंग बेल्टार धाप्लाङ्गघाट बाटोका निरिक्षण गरेका थिए भने केही समय पहिले चौदण्डीगढी नगर विकास बोर्डका अध्यक्ष पदम राईको नेतृत्वमा पनि एक टोलीले बेल्टार बंशिलाघाटको बाटोको निरिक्षण गरि यातायात संचालनको संभावना अध्ययन गरेको थियो ।

एता बेल्टार बंशिलाघाट यात्रुबहाक बस संचालन भएमा आफ्नो ब्यबसायमा असर पर्ने देखिएपछि बेल्टारबाट बंशिलाघाटसम्म संचालन हुदै आएको टेम्पो ब्यबसायीहरुले यात्रुबहाक बस संचालनमा अबरोध गरेका छन् । हिजो बाटोको अबस्था हेरेर फर्केको गाडीलाई केही टेम्पो ब्यबसायीले अबरोध गर्दै बंशिलाघाटमा यात्रुहरुलाई बसमा छढ्न दिएनन् । उनीहरुको अबरोधपछि बंशिलाघाटबाट बस यात्रुबिहिन नै फर्किएको थियो । बंशिलाघाटमा टेम्पो ब्यबसायीको अबरोधको बिषयमा आज सरोकारवालाहरुबीच छलफल हुने बताइएको छ । अहिले प्रति यात्रु बेल्टारबाट बंशिलाघाटसम्मको भाडा पाँच सय रुपैयाँभन्दा बढी असुलिरहेको टेम्पो ब्यबसायीले यात्रुबहाक बस संचालन भएमा आफ्नो ब्यबसायमा असर पर्ने देखिएपछि अबरोध गरेको बुझिएको छ । ३ जनामात्र यात्रु सवारीको परमिट भएको टेम्पोले ५ जनाभन्दाबढी यात्रुलाई लिएर कच्ची बाटोमा बेल्टार बंशिलाघाट ओहोरदोहर गरिरहेको छ । कतिपय टेम्पो चालकसंग सवारी चालक अनुमति पत्र समेत नरहेको बताइएको छ भने यस बिषयमा अनुगमनकारी निकाय ट्राफिक प्रहरीले समेत कडाई नगर्दा टेम्पो चालकहरुको मनोवल बढेको जनाइएको छ ।