चौदण्डीगढी नगरपालिकाद्वारा नेपाली महिला कब्बडी टोलीको मुख्य प्रशिक्षक पार्वती राई नगद पुरुस्कारसहित सम्मानित ।

२३ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

नेपाली महिला कब्बडी टोलीको मुख्य प्रशिक्षक पार्वती राईलाई चौदण्डीगढी नगरपालिकाले सम्मान गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडा निवासी राईलाई गत सेप्टेम्बर २३ देखी अक्टोवर ८ तारिखसम्म चीनको हाउझाङ्गमा भएको १९ औं एसियन गेममा नेपालको राष्ट्रिय टिमलाई कास्य पदक जिताउन अहम भुमिका खेल्दै नगरको गरिमा बढाएको कारण सम्मान गरिएको हो । आज वडा नम्बर १० हडियामा एक कार्यक्रमका बीच नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अघिकृत शुभाकार पौडेलले संयुक्तरुपमा मुख्य प्रशिक्षक राईलाई नगद २० हजारसहित सम्मान गरेका छन् । राईको प्रशिक्षणमा रहेको नेपाली टिमले १९ औं एसियन गेममा ईरानलाई पराजित गर्दै काश्य पदक जितेको थियो । पहिलो पटक एसियन गेमका सहभागी भएको महिला टोलीले पहिलो प्रयास मै काश्य पदक जित्न सफल भएको थियो । राईले नेपाली महिला कब्बडी टोलीको प्रशिक्षक भएर कार्य सम्हाले यता नेपालले अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा सफलता प्राप्त गरिरहेको छ ।

सन् २०१६ मा भारतमा भएको १२ औं सार्क खेलकुद प्रतियोगितामा राईको प्रशिक्षण रहेको नेपाली महिला कब्बडी टोलीले काश्य पदक जितेको थियो भने सन् २०१९ मा नेपालमा भएको १३ औं सार्क खेलकुद प्रतियोगितामा रजत पदक जितेको थियो । बि.स. २०४४ सालबाट कब्बडीको राष्ट्रिय टोलीमा सहभागी राई बि.स. २०५२ सालदेखी प्रशिक्षक तथा २०७८ साल फागुन महिनादेखी नेपली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकको भुमिकामा कार्यरत छिन् । सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले आफ्नो पालिकाको चेलीले अन्तराष्ट्रियस्तरमा देशको नाम उच्चो राखेकोमा खुशी ब्यक्त गरेका थिए ।