उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सुरक्षा निकायको मनोवल बढाउन जरुरी रहेको बताएका छन् । चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित नेवाः भवनमा आज सम्पन्न नेपाल पूर्व प्रहरी संगठन नगर कार्य समिति चौदण्डीगढीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी जोशीले सुरक्षा निकायको मनोवल नबढाएमा सुरक्षा चुनौती थपिने जिकिर गरेका छन् । जेनजी आन्दोलनको समयमा सार्वजनिक र नीजि सम्पतिमाथी भएको आगजनी तथा अराजक गतिविधीको प्रसंग जोड्दै प्रजिअ जोशीले सो कुरा बताएका हुन् । उनले राज्यले गरेको राम्रो कामको चर्चा नहुने तर सानोतिनो कमजोरी खोजेर अराजकता फैलाउने गतिबिधीप्रति सचेत गराएका थिए । प्रजिअ जोशीले समाजमा सकरात्मक सन्देश दिने किसिमका कार्यहरुमा सहकार्य गर्न आग्रह समेत गरेका थिए । पूर्व प्रहरीहरुको जनसम्पर्क राम्रो हुने गरेको उल्लेख गर्दै पूर्व प्रहरीहरुलाई समाजमा देखिएका गलत गतिविधीहरुको बारेमा सुचना संकलन गरेर सुरक्षाका विषयमा सहकार्यका लागि उनले आग्रह पनि गरेका थिए । पूर्व प्रहरीहरुले सचेतनामुलक गतिविधीहरुमा सहयोग गर्नुपर्ने प्रजिअ जोशीको धारणा थियो । यस्तै प्रजिअ जोशीले पूर्व प्रहरीहरु सरकारी निवेदन लगायतका प्रशासनिक कागजातहरु तयार गर्न तालिमप्राप्त हुने भएको हुनाले उनीहरुलाई सेवाग्राहीको निवेदन लेखन कार्यमा भोलेन्टियरको रुपमा सहयोग गर्न आग्रह गर्दै यस किसिमको रचनात्मक कामले सकरात्मक सन्देश प्रवाह हुने बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले जिल्लास्त्तरीय सुरक्षा रणनीति बनाएर कार्य गर्दा नगरपालिकाले सहयोग गर्ने आश्वासन दिदै नेपाल प्रहरी, नगर प्रहरी र पूर्व प्रहरीहरुलाई मिलाएर सुरक्षा ब्यबस्थालाई चुस्तदुस्त बनाउन सकिने धारणा राखेका थिए ।
नगर प्रमुख लामाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पुर्व नगर प्रमुख खगेन्द्र राई, उदयपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन चापागाँई, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का लगायत पुर्व प्रहरीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रममा शहिद परिवार तथा ज्येष्ट पुर्व प्रहरीहरुलाई सम्मान समेत गरिएको थियो ।
