जिम्मेबारी पुरा नगरेको भन्दै नारद आदर्श शिक्षा क्याम्पस बसहाका क्याम्पस प्रमुखको तलव भत्ता रोक्का गरिएको छ । भदौ ११ गते नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडा बसहास्थित नारद आदर्श शिक्षा क्याम्पसका क्याम्पस प्रमुख राजकुमार राईले पाईरहेको तलब भत्ता रोक्का गरिएको हो । नगर शिक्षा शाखा प्रमुख सुरज कुमार कार्कीका अनुसार बेला बेलामा क्याम्पसमा अनुपस्थित रहने, क्याम्पसको समयमा अयन्त्र ठेक्कापट्टा जस्ता कार्यमा संलग्न रहने, क्याम्पसलाई आत्मनिर्भर बनाउन विद्यार्थी संख्या बढाउने जस्ता कार्य गर्नुपर्नेमा कार्ययोजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकेको गुनासो प्राप्त भएपछि नगर प्रमुखस्तरीय निर्णय गरी क्याम्पस प्रमुखको तलव भत्ता रोक्का गरिएको जानकारी क्याम्पस ब्यबस्थापन समितिलाई पत्राचार गरी पठाईएको बताएका छन् ।

एता नगर प्रमुख कालुमान लामाले समेत आफ्नै वडामा रहेको क्याम्पस सुधारका लागि अधिक्तम प्रयास गर्दा पनि क्याम्पस प्रमुख राईको कार्यशैलीले आजित भएको र यस बिषयमा क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष हाईदिपकेसर राईलाई जानकारी गराएको तर कुनै सुधार नदेखिएपछि तलब भत्ता रोक्का राख्ने निर्णय भएको जानकारी दिएका छन् । क्याम्पस प्रमुखले पुर्णकालिन रुपमा क्याम्पसलाई समय दिएर सुधारका कार्यहरु गर्ने प्रतिबद्धता जनाएमा उनको सेवा सुविधा नरोकिने पनि नगर प्रमुख लामाले बताएका छन् । नगरपालिकाको उदेश्य क्याम्पसको शैक्षिक सुधार मात्र रहेको उनको भनाई छ । २०७९ साल माघ देखी पूर्णकालीन क्याम्पस प्रमुखका रुपमा राजकुमार राई नियुक्त भएका थिए । राई चौदण्डीगढी कन्सट्रक्सनका प्रोप्राईटर समेत हुन् । ठेकेदार समेत रहेका राईले नगरमा संचालित विभिन्न ठेक्काहरु लिएर समयमा काम पुरा नगरेको गुनासो समेत आउने गरेको छ ।
चौदण्डीगढी नगरपालिकामा गत २०७९ सालको स्थानीय तह निर्वाचनबाट एमाले नेतृत्वमा दुई तिहाईसहित नगर प्रमुखमा कालुमान लामा निर्वाचित भएपछि नगरपालिकाले नगरको शिक्षा क्षेत्रलाई सुधारका लागि नगरमा संचालित दुईवटा क्याम्पसहरु, बसहास्थित नारद आदर्श शिक्षा क्याम्पस र बेल्टार बजारस्थित ज्योती जनता बहुमुखी क्याम्पसमा नगरपालिकाले तलब भत्ता ब्यहोर्नेगरी पुर्णकालिन क्याम्पस प्रमुखको ब्यबस्था गरेको थियो । सोही अनुसार नगरपालिकाले क्याम्पस प्रमुखको तलब भत्ताका लागि दुवै क्याम्पसलाई बार्षिक ६–६ लाख रुपैयाँ उपलब्ध गराउदै आएको छ ।
क्याम्पस प्रमुख राईका भाई नेकपा माओवादी केन्द्र चौदण्डीगढीका नगर अध्यक्ष दिनेश राईले हिजो नगरपालिकाले नारद आदर्श शिक्षा क्याम्पसलाई दिईरहेको अनुदान फिर्ता गरेको भन्दै सामाजिक संजालमा स्टाटस राखेपछि यस बिषयमा चासो ब्यक्त भएको थियो । तर नगरपालिकाले अनुदान रोक्का नभएर क्याम्पस प्रमुख राईले आफ्नो पुर्व प्रतिबद्धता अनुसार पुर्णकालिन समय क्याम्पसलाई दिएर क्याम्पसको शैक्षिक उनन्यणका लागि कार्य नगरेर गैरजिम्मेवार रहेकोले सेवा सुविधा रोक्नु परेको स्पष्ट पारेको छ ।
