चौदण्डीगढी साईकल सिटीको आयोजनामा पहिलो पटक कोरा साईक्लिङ्ग च्यालेन्ज हुने भएको छ । माई कोरा च्यालेन्ज अन्तर्गत चौदण्डीगढी कोरा २०२५ साउन ३ गते हुने चौदण्डीगढी साईकल सिटीका अध्यक्ष अनिल पौडेलले जानकारी दिएका छन् । साइक्लिङ्गलाई खेलको रुपमा विकास गर्ने, साईक्लिङ संस्कृतिको प्रवर्धन गर्ने, स्वास्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश दिन कोरा च्यालेन्ज आयोजना गरिएको अध्यक्ष पौडेलले बताएका छन् । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ बेल्टार बजारस्थित पुष्पलाल चौकबाट शुरु गरी बेल्टार–धप्पर, माडिबास, गंगटे, यस्तै वेलका नगरपालिकाको सुपाडे, चौदण्डीगढी नगरपालिको शनिवारे हुदै वेलका नगरपालिकाको आम्बासी, त्यसैगरी सप्तकोशी नगरपालिकाको फत्तेपुर हुदै चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, सिवाई, अजगडा, हडिया, ज्यामिरे हुदै बेल्टारस्थित बसपार्कमा पुगेर समापन गरिने जनाइएको छ । यस दौरान ५०.५ किलोमिटर यात्रा तय गरिने अध्यक्ष पौडेलले बताएका छन् ।

यात्राको क्रममा आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्ने तथा साईक्लिङ्ग यात्रीहरुबाट स्वेच्छिकरुपमा आर्थिक संकलनगरी सामाजिक कार्यमा सहयोग गरिने पनि अध्यक्ष पौडेलले जानकारी दिएका छन् । उनले च्यालेन्जमा सामाजिक अगुवा तथा बुद्धिजीवीहरुको सहभागिता रहने, मुख्य चौकहरुमा साईक्लिङ्गको मनोरञ्जनात्मक कला प्रदर्शन गरिने र साईक्लिङ्ग गतिविधीहरुको सामाजिक संजाल प्रयोगगरी प्रचारपसार गरिने बताएका छन् । पछिल्लो समय चौदण्डीगढी नगरपालिका क्षेत्रका युवायुवतीहरुको पनि आकर्षण साईक्लिङ्गप्रति बढ्दै गएको छ भने उनीहरु समुह बनाएर सामाजिक कार्यमा समेत सहभागी हुदै आएका छन् । साईक्लिङ्गले स्वस्थ्य जीवनशैली अपनाउन, युवायुवतीहरुलाई लागुऔषधको कुलतबाट टाढा राख्न र समाजप्रति जिम्मेदार बनाउन भुमिका खेल्ने बिश्वास गरिएको छ ।
