एमाले जिल्ला अध्यक्षका लागि परमेश्वर घिमिरे र भागवत राउतबीच प्रतिस्पर्धा हुने ।

१४ चैत्र २०८०, सन्तोष कुमार रौनियार…

नेकपा एमाले उदयपुरको ९ औं जिल्ला अधिवेशनमा जिल्लाको नेतृत्वका लागि बर्तमान अध्यक्ष परमेश्वर घिमिरे र भागवत राउतबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि केन्द्रीय नेताहरुको दवावकाबीच पनि नेतृत्व सर्वसम्मत गर्ने बिषयमा सहमति नभएपछि जिल्लाको नेतृत्व चुनावी प्रतिस्पर्धाबाट नै टुङ्गो लाग्ने भएको छ । चुनावी प्रतिस्पर्धाका लागि ५ जनाले अध्यक्षमा नाम मनोनयन गराएको भए पनि ३ जनाले नाम फिर्ता लिएपछि घिमिरे र राउतबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा मनोमयन दर्ता गराएका बिमल कार्की, गोपाल बहादुर खत्री र खड्ग बहादुर परियारले नाम फिर्ता लिएपछि २ जनाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

यस्तै उपाध्यक्षमा दिल बहादुर तामाङ्ग, भरत बहादुर थापा र कालुमान लामाबीच प्रतिस्पर्धा हुने भएको छ भने सचिव पदमा टेकबहादुर राउत, शम्भु पौडेल र महेश रोक्का चुनावी प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा उम्मेदवार भरत बहादुर थापा भागवत राउत र कालुमान लामा परमेश्वर घिमिरे प्यानलबाट उम्मेदवार रहेको बुझिएको छ । यस्तै सचिव पदमा उम्मेदवार टेकबहादुर राउत भने परमेश्वर घिमिरे र शम्भु पौडेल भागवत राउत प्यानलबाट उम्मेदवार रहेका छन् । तर प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा नगएको हुनाले यीनीहरु सबैले आफुलाई साझा उम्मेदवार बताइरहेका छन् ।

एता उपसचिव महिलामा गंगा राई, गीता खड्का र महेश्वरी राईबीच प्रतिस्पर्धा हुने भएको छ भने उपसचिव खुल्ला तर्फ हेम बहादुर खड्का, मन्दिप राई, धर्म बहादुर तामाङ्ग, जीवनाथ दाहाल, दुर्गानन्द चौधरी र नारद निरौलाबीच प्रतिस्पर्धा हुने भएको छ । सर्वसम्मतीमा नेतृत्व चयन गर्ने भन्दै नेताहरुले दवाव दिए पनि सहमति नभएपछि ढिलो गरी मतदान शुरु भएको छ । ६२५ जना मतदाता रहेकोमा १०५ सदस्यीय जिल्ला कमिटीको चयन आजको चुनावले गर्नेछ । जसमा भुगोल र खुल्लातर्फबाट जिल्ला कमिटी सदस्यमा सदस्यहरु चयन हुनेछन् । भुगोलबाट जिल्लाको ८ वटा पालिका मध्ये उदयपुरगढी, ताप्ली र रौतामाई गाँउपालिका र कटारी नगरपालिकाबाट सदस्यहरु सर्वसम्मत चयन भएका छन् भने त्रियुगा , बेलका र चौदण्डीगढी नगरपालिकामा सहमति हुन नसक्दा यी पालिकाको भुगोलबाट समेत सदस्यहरु चनावी प्रतिस्पर्धाको माध्यमबाट चुनिने छन् । एमाले उदयपुरको चुनावी परिणाम भने भोली दिउँसोसम्म आउने अनुमान गरिएको छ ।

हिजो त्रियुगा नगरपालिका मोतिगडास्थित होटल इम्पायर इन मा नेकपा एमालेका केन्द्रीय बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ९ औं जिल्ला अधिबेशनको उद्घाटन गरेका थिए ।