१२ चैत्र २०८०, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिका वडा नम्बर २ स्थित झोडापाटा र चारघरे बस्तीका २८ घर भूमिहिन दलित , भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । हिजो झोडापाटास्थित वडा नम्बर २ को कार्यालय परिसरमा वडा कार्यालयको समन्वय र नगरपालिकाको आयोजनामा भएको भुमीहिन दलित, भुमिहिन सुकुम्बासीका लागि निशुल्क जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रममा २ नम्बर वडाका २८ घर भूमिहिन दलित , भूमिहीन सुकुम्बासी परिवारलाई अधिक्तम एक कठ्ठा जग्गा हुनेगरी लालपुर्जा वितरण गरिएको हो ।
गत भदौ महिनामा नै झोडापाटा र चारघरे बस्तीका भूमिहिन दलित परिवारको नाममा पुर्जा बनिसकेको भएपनि जिल्लास्थित भुमी आयोग र चौदण्डीगढी नगरपालिकाबीचको रस्साकस्सीका कारण हिजो मात्र लालपुर्जा वितरण गरिएको हो । भुमी आयोगले नगरपालिकाको आयोजनामा जग्गा वितरण गर्न खोजेकोमा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले थोरै संख्यामा मात्र आयोगले धनी पुर्जा वितरण गर्न खोजेर प्रचारमुखी बन्न खोजेको भन्दै रोकेका थिए । मेयर लामाले कम्तिमा पनि दुई तीन हजार भुमीहिनहरुले जग्गाको लालपुर्जा पाउने सुनिश्चिता भएपछि मात्र वितरण गर्नुपर्ने धारणा राख्दै आएका थिए । यद्यपी संघीय सरकारले भुमी आयोग खारेज गरिसकेको अबस्थामा हिजो नगर प्रमुख लामाको प्रमुख आथितियतामा भएको कार्यक्रममा २ नम्बर वडाका २८ घर भूमिहिन दलित , भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ ।सोक्रममा भुमी सेवा केन्द्र बेल्टार अन्तर्गत कार्यरत कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

वडा नम्बर २ मा ६८ भुमिहिन दलित, १७ भुमिहिन सुकुम्बासी, ३३ अब्यबस्थित बसोबासी र ७ कित्ता सार्वजनिक जग्गाको नाप नक्सा गरिएको छ । जसमा दलित परिवारको संख्या ५२, भुमिहीन सुकुम्बासी परिवारको संख्या १२ र अब्यबस्थित बसोबासी परिवारको संख्या २१ रहेको छ । चौदण्डीगढी नगरपालिकामा ५३४ भुमीहीन दलित, १४०७ भुमिहीन सुकुम्बासी र ११,३५३ अब्यबस्थित बसोबासी गरी जम्मा १३, ३१४ कित्ताको गरी ७१, १७० कठ्ठा जमिन नापजाँच गर्नुपर्ने रहेको भुमी सेवा केन्द्र बेल्टारका प्रमुख यज्ञराज श्रेष्ठले जानकारी दिएका छन् ।
वडा नम्बर २ का वडाध्यक्ष हरी बहादुर खड्काको अध्यक्षतामा भएको जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रममा नगर प्रमुख कालुमान लामा , नगर उपप्रमुख मणिकादेवी दुलाल, पुर्व नगर प्रमुख खगेन्द्र राई, नापी कार्यालय गाईघाट उदयपुरका प्रमुख इन्द्र कुमार शाह, वडा नं ९ का वडाध्यक्ष तथा नगर प्रवक्ता प्रकास राउत, वडा नं ४ का वडाध्यक्ष लुङगाराज, राष्ट्रिय भूमि आयोग जिल्ला समिति उदयपुरका निवर्तमान विज्ञ सदस्य विसन विष्ट, निवर्तमान सदस्य रुद्र अधिकारी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, टोल विकास समितिका पदाधिकारी लगायत बिभिन्न राजनीतिक दलका प्रतिनीधि र लाभग्राही तथा सर्वसाधारणको उपस्थिती रहेको थियो । यस अघि गत बर्ष माघमा भुमी आयोग उदयपुरले बेलका नगरपालिका वडा नम्बर ५ सुपाडे घुम्नेका ११ घर परिवार भुमिहीन सुकुमबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको थियो ।


