२३, कार्तिक,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिकाको विशेष सहयोग र सृजना युवा क्लब बसाहा बदेलपानीको आयोजनामा सञ्चालित प्रथम स्व. मानबहादुर मगर स्मृति कप फुटबल प्रतियोगिताको उपाधि अजम्बरी युथ क्लव भागलपुरले जितेको छ । चौदण्डीगढी नगरपालिका वडा नं.–३ को बदेलपानी खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा ब्रदर युथ क्लव बदेलपानीलाई १–० को गोल अन्तरले पछि पार्दै अजम्बरी युथ क्लव भागलपुरले उपाधि उचालेको हो । खेलको पहिलो हाफको ११ औं मिनेटमा अजम्बरी युथ क्लवका जर्सी नं. २० का खेलाडी दावा तामाङले गरेको गोल नै अजम्बरी युथ क्लवको जितको लागि निर्णायक गोल बनेको थियो । प्रतिस्पर्धात्मक खेलमा दुबैतर्फबाट थप गोल हुन नसकेपछि भागलपुरले १–० को गोल अन्तरले जित निकाल्दै उपाधी उचालेको छ । आजको खेलको म्यान अफ द म्याच भागलपुरका दावा तामाङ र म्यान अफ द टुर्नामेन्ट भागलपुरकै गोलकिपर नवीन राउत घोषित भएका थिए ।

कार्तिक १७ गतेदेखी संचालन भएको प्रतियोगितामा आयोजकसहित उदयपुर र छिमेकी जिल्ला सप्तरीको गरी आठ वटा टिमको सहभागिता रहेकोमा उपाधी विजेता अजम्बरी युथ क्लवले ३० हजार र उप–विजेता ब्रदर युथ क्लवले २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता र उप–विजेता टिमलाई खेल समापन कार्यक्रमको प्रमुख अतिथी तथा नगर उप–प्रमुख मणिकादेवी दुलाल, विशेष अतिथिहरु ३ नं. वडाको वडा अध्यक्ष पर्शुराम राई, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगर र नगर खेलकुद विकास समितिका सदस्य सचिव अनुपराज खत्रीले पुरस्कार प्रदान गरेको थिए ।
