२०८०/०६/१६, सन्तोष कुमार रौनियार,उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको बेल्टार बजारबाट निस्किने फोहरमैला ब्यबस्थापनको लागि सरोकारवालाहरुसंग छलफल गरेको छ । नगर प्रमुख कालुमान लामाको आवहानमा आज बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगरमा क्रियाशिल राष्ट्रिय पार्टीका प्रतिनीधि तथा फोहरमैला ब्यबस्थापन संघर्ष समितिका प्रतिनीधि र सम्बन्धित टोलबिकास समिति तथा सामुदायिक वन उपभोक्ता समितिका प्रतिनीधिहरुबीच आज भएको सर्वपक्षीय, सर्वदलीय छलफलमा समस्या समाधानका लागि एक समिति गठन गर्ने सम्झदारी भएको छ । नगर प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतको संयोजकत्वमा नगरमा क्रियाशिल राष्ट्रिय पार्टीका प्रतिनीधि, वडा नम्बर ६ र ७ का प्रतिनीधि, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका प्रतिनीधि, संघर्ष समितिका प्रतिनीधिहरु सदस्य रहनेगरी समिति निमार्ण गरिएको छ । उक्त समितिले आगामी फागुन मसान्तसम्म नगरको फोहरमैला ब्यबस्थापनका लागि दिर्घकालिन स्थानको पहिचान गर्ने तथा वडा नम्बर ६ स्थित आँपखहरे सामुदायिक वन उपभोक्ता समितिको हाल फोहर फालिरहेको क्षेत्र र यसअघि नगरपालिकाले वडा नम्बर ६ र ९ को सिमानामा निमार्ण गरेको डम्पिङ्ग साईटमा दुर्गन्ध नफैलिनेगरी फोहर ब्यबस्थापन गर्ने लगायतको कार्य गर्ने सहमति भएको छ ।

यसअघि छलफलमा नगरको फोहरमैला ब्यबस्थापनको बिषयलाई लिएर भैरहेको प्रदर्शनप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै नगर प्रमुख लामाले फोहरमैलाको दिर्घकालिन र अल्पकालिन ब्यबस्थापनका लागि बिकल्पसहित बैठकका सहभागीहरुसंग सुझाव मागेका थिए । बैठकमा सहभागी वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, वडा नम्बर १० का वडा अध्यक्ष धर्मेन्द्र खड्का, वडा नम्बर ३ का वडा अध्यक्ष पर्शुराम राई, वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राई, वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउत, वडा नम्बर ७ का वडा सदस्य राजेश श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत सुभाकर पौडेल लगायत राजनीतिक दलका प्रतिनीधिहरुले समस्या समाधानका लागि एक समिति निमार्ण गर्नुपर्ने सुझाव दिएका थिए । यस्तै वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले नगरपालिकाले यसअघि नगरको लगानीमा निमार्ण गरेको ज्यामिरेस्थित वडा नम्बर ६ र ९ को सिमानामा रहेको ल्याण्डफिल्ड साईटमा केही पुर्वाधार निमार्ण गरेर बैकल्पिकरुपमा संचालन गर्नुपर्ने सुझाव दिएका थिए । छलफलमा बजारबासीको घरबाट निस्किने फोहरमैलाको बर्गिकरण गरेर कुहिने र नकुहिने फोहरमैला घरमै छुट्टयाउनु पर्ने, कुहिने फोहरबाट कम्पोस्ट मल उत्पादनका लागि प्रोत्साहित गर्नुपर्ने, प्लास्टिकजन्य झोलाको प्रयोग निषेध गर्नुपर्ने लगायतका बिषयमा पनि छलफल भएको थियो ।


