उद्घाटन खेलमा सुन्सरीको तालतलैया फुटवल क्लब बिजयी ।

आजबाट उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद राप्रसाद राई रंगशालामा संचालन भएको प्रथम दिप्शन मगर खुल्ला नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा सुन्सरीको तालतलैया फुटवल क्लब बिजयी भएको छ । बिपक्षी उदयपुर गाईघाटको फ्युजन फुटबल क्लव बोक्सेलाई ३ –१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको सुरुवात देखीनै राम्रो लय र टिम स्प्रीटको साथमा खेलेको तालतलैयाले गोल गर्ने अवसरहरु सृजना गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । पानी परेर चिप्लो भएको खेल मैदानमा खेलाडीहरुलाई खेल्न केही अप्ठ्यारो भए पनि दुवै टिमले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेका थिए । पहिलो हापको २५ औं मिनेटमा डिबक्स एरियाभन्दा केही मिटर बाहिर बाट तालतलैयाका जर्सी नं. ८ का खेलाडीले गरेको प्रहारलाइ हेड मार्फत गोल गर्दै तालतलैया फुटबल क्लवका जर्सी नं. ६ का रमेश राजबंसीले आफ्नो टीमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलमा फ्युजनका खेलाडीहरु सँहालिन नपाउदै फेरी तालतलैयाकैै जर्सी नं. २३ का खेलाडी सन्दिप लिम्बुले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । २ – ० को अवस्थामा रहेको खेलमा फ्युजनका जर्सी नं. १० का समिर राइले खेलको ३० औं मिनेटमा गोल गर्दै खेलको नतिजा २–१ मा पुरयाएका थिए ।

पहिलो हापमा २–१ गोल अन्तरले पछि परेको फ्युजनका खेलाडीहरु भने दोश्रो हापमा सम्हालिएर खेल्न सकेनन् । पटक पटक फवल खेलेका कारण फ्युजनका जर्सी नम्बर ५ का सुनिल श्रेष्ठ, जर्सी नम्बर ११ का दिपक खपाङ्गी मगर, जर्सी नम्बर १२ का तिपसन राई र जसी नम्बर १७ का सुनिल खड्काले पहिलो कार्ड पाएका थिए । खेलको ६३ औं मिनेटमा जर्सी नम्बर १२ का तिपसन राईले दोहोरा पहिला कार्डसंगै रातो कार्ड पाएपछि फ्युजन १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि भने फ्युजन खेलमा फर्कन सकेन भने दोश्रो हापको ईन्जुरी समयको अन्तिम मिनेटमा तालतलैयाको जर्सी नम्बर १७ का बिबस गुरुङ्गले गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए । समग्रमा तालतलैयाले ३–१ गोल अन्तरले बिजयी हुर्दै सेमिफाईनलमा प्रबेश गरेको छ । आजको म्यान अफ दि म्याच तालतलैयाका विवस गुरुङ्ग घोषित भएका थिए । उनलाई बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुनले पुरुस्कार प्रदान गरेका थिए ।

यसअघि चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले प्रतियोगिताको उद्घाटन गरेका थिए भने पुर्व मेयर खगेन्द्र राई, पारुहाङ्ग एकेडेमीका प्रिन्सिपल छविन्द्र राई लगायतले शुभकामना दिएका थिए । अब भोली आईतवार दोश्रो क्बाटर फाईनलको खेल उदयपुरको गाईघाट फुटवल क्लब र भागलपुर फुटवल क्लबबीच हुने आयोजकले जानकारी दिएको छ ।