चौदण्डीगढी नगरपालिकामा संचालित सार्वजनिक यातायातबाट यात्रुहरु ठगिन बाध्य ।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा संचालित यातायात ब्यबसायीहरुले यात्रुहरुसंग लामो समयदेखी बढी भाडा असुलेको भेटिएको छ । नगरको ब्यापारिक केन्द्र बेल्टार बजारबाट धरान, विराटनगर, काकडभिट्टा लगायतका गन्तब्यका लागि छुट्ने भाडाका सार्वजनिक बसहरुको भाडा सरकारले तोकेभन्दा बढी लिरहेको पाइएको हो । बिशेषतः बेल्टारबाट छोटो दुरीका उदयपुरको शनिवारे, रामपुर, गाईघाट, सप्तरीको फत्तेपुर, कंचनपुर लगायतको स्थानको भाडा सरकारले तोकेभन्दा धेरै नै लिरहेको पाइएको छ । संयुक्त बुकिङ्ग काउटर बेल्टारका संयोजक एव्म उदयपुर हिमाली यातायात ब्यबसायी संघ चौदण्डीगढीका अध्यक्ष ज्ञानेन्द्र प्रधानका अनुसार छोटो दुरीको सार्वजनिक सवारी साधनले केही बढी भाडा लिरहेको स्वीकार गरेका छन् । केही बर्षअघिसम्म बेल्टार फत्तेपुरको बाटो कच्ची रहेको अबस्थामा सरकारले तोकेको भन्दा बढी भाडा दर लिरहेको अबस्थामा अहिले पनि भाडा केही बढी लिएको हुनसक्ने उनको भनाई छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गत भदौ ३ गतेको निर्णय अनुसार नयाँ भाडादर कायम गरी लागु गर्ने जनाएको भएता पनि चौदण्डीगढीमा भने निर्णय कार्वन्यवन हुन सकेको छैन । उदयपुर सदरमुकाम गाईघाटमा एक हप्ता अघि यातायात ब्यबसायीसहित यातायात ब्यबस्था सेवा कार्यालय उदयपुर गाईघाटका पदाधिकारीसंग भएको छलफलमा प्रदेश सरकारको निर्णय कार्यन्यवनमा लैजाने सहमति भएको जनाउदै संयुक्त बुकिङ्ग काउटर बेल्टारका संयोजक ज्ञानेन्द्र प्रधानले नयाँ भाडादर भोलीबाट नै लागु हुने प्रतिबद्धता ब्यक्त गरेका छन्। प्रदेश सरकारले तोकेको मापदण्ड अनुरुप यातायात ब्यबस्था सेवा कार्यालय उदयपुर गाईघाटले मदन भण्डारी राजमार्गमा संचालित सार्वजजिक यात्रुबहाक बस, मिनीबस, जीप तथा भ्यानको भाडादर कायम गरेको छ । जस अनुसार गाईघाटबाट बेल्टार रामपुर धरान हुदै बिराटनगरको भाडादर ११३ किलोमिटरको ३५४ रुपैयाँ कायम गरेको छ । यस्तै गाईघाट बेल्टारको भाडा २३ किलोमिटरको ७२ रुपैयाँ र गाईघाट बसहाको भाडा २७ किलोमिटरको ८४ रुपैयाँ कायम गरेको छ । सरकारले नयाँ भाडादरमा कायम गरेको भाडादर प्रतिकिलोमिटर झण्डै ३ रुपैयाँ १५ पैसा अनुसार बेल्टार शनिवारेको ८ किलोमिटरको २५ रुपैयाँ, फत्तेपुरको भण्डै १५ किलोमिटरको ५० रुपैयाँ र कंचनपुरको ३० किलोमिटरको झण्डै एक सय रुपैयाँ मात्र भाडा हुने भएता पनि यस्को विपरीत बेल्टारबाट शनिवारे बसहासम्मको भाडा ५० रुपैयाँ, बेल्टारदेखी फत्तेपुरसम्मको भाडा एक सय रुपैयाँ र कंचनपुरसम्मको भाडा १५० रुपैयाँसम्म यातायात ब्यबसायीहरुले अहिले लिरहेको अबस्था छ ।

ट्राफिक प्रहरीद्वारा नियमित अनुगमन नहुदाँ ब्यबसायीले यात्रुसंग बढी भाडा लिरहेको बिषय ओझेलमा परेको छ । यस बिषयमा यात्रुहरुले पनि कुरा नउठाउदाँ बर्षौदेखी यसक्षेत्रका सार्वजनिक यातायातका यात्रुहरु ठगिएका छन् । यस्तै सबै यात्रुहरुले देख्नेगरी सार्वजनिक भाडाको दररेटको सुचना बसपार्क र बस काउन्टरहरुमा नहुदाँ यात्रुहरुलाई बास्तबिक भाडा थाहा नहुदाँ पनि उनीहरु ठगिदै आएका छन् ।