प्रथम दिप्शन मगर स्मृती फुटवल प्रतियोगिता भदौ २३ गतेदेखी संचालन हुने ।

दिवगंत सहकर्मीको स्मृतीमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टारमा रहेको बेल्टार एकता युवा क्लवले प्रथम दिप्शन मगर स्मृती फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी भदौ २३ गतेदेखी ३० गतेसम्म बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा नकआउट फुटवल प्रतियोगिता संचालन गरिने क्लबले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । बेल्टार बजारस्थित बेलबोट रिसोर्टमा भएको पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष निरज घिसिङ्गले मगरको स्मृतीमा फुटवल प्रतियोगिता संचालन गर्दा मृतकको सम्मान पनि हुने एवम् फुटवलको विकासमा पनि योगदान पुग्ने भएकोले फुटवल प्रतियोगिताको आयोजना गरिएको बताएका थिए । बेल्टार एकता युवा क्लवका सदस्य एवम् फुटवल क्लबका गोलरक्षक रहेका मगरको गत श्रावण १७ गते मोटरसाईकल दुर्घटना परी मृत्यु भएको थियो । मगर नगरकै कुशल खेलाडी थिए ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रोशन राईले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको जनाउदै क्लबलाई बिभिन्न संघसंस्था तथा देश बिदेशमा रहेका खेलप्रेमीबाट आर्थिक सहयोग प्राप्त भैरहेको बताउदै प्रतियोगिता संचालन गर्न अनुमानित ४ लाख ५० हजार खर्च हुने बताएका छन् । उनले प्रतियोगितामा लाग्ने खर्चभन्दा बढी रकम संकलन भएका दिप्शन मगर स्मृती कोषको स्थापना गरि खेलकुद गतिबिधीलाई सहयोग गर्ने क्लबको योजना रहेको पनि बताएका थिए । पत्रकार सम्मेलनमा प्रतियोगितामा आयोजक बेल्टार एकता युवा क्लब सहित स्थानीय र अन्य जिल्लाको गरी ८ वटा टिमको सहभागिता रहने जनाएको छ । प्रतियोगितामा आयोजक बेल्टार युवा क्लब, यस्तै उदयपुरको बेलका नगरपालिकाको टिम, गाईघाट फुटवल क्लब , कटारी फुटवल क्लब, फ्युजन फुटवल क्लब बोक्से , लालिगुराँश फुटवल क्लब भागलपुर, न्यु त्रियुगा स्पोर्टस क्लब सप्तरी र तालतलैया फुटवल क्लब सुनसरीले सहभागिता जनाउने आयोजकले जानकारी दिएकोे छ ।

यस्तै अध्यक्ष राईका अनुसार प्रतियोगिताको प्रथम पुरुस्कार नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने उप विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै बिद्यागततर्फ उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, हाई स्कोरर्, उत्कृष्ट खेलाडी र उत्कृष्ट कोचलाई नगद र ट्रफीसहित सम्मान गरिने जनाएको छ । प्रथम पुरुस्कार नगद ५० हजार रुपैयाँ भने बेल्टार बजारस्थित पारुहाङ्ग एकेडेमीले प्रायोजन गरेको राईले बताएका छन् । त्यस्तै प्रतियोगिताको टाइसिट भने यही भदौ १८ गते सार्वजनिक गरिने क्लबका सदस्य जस बहादुर राई जानकारी दिएका छन् ।