मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उदयपुरमा मा ४९ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफ्त हुाबाट जोगाउन कुल बसेको सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोईरालाले जानकारी दिएका छन् । मतपेटिकामा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका विभिन्न पार्टी तथा स्वतन्त्र गरि ६२ जना उमेदवार रहेकोमा प्रतिनिधिसभातर्फका २३ र प्रदेशसभातर्फका २६ गरी कुल ४९ जना उम्मेदवारको जमानत जफत भएको हो ।
दुई बटा प्रतिनीधि सभाको र ४ चारवटा प्रदेश सभाको निर्वाचन क्षेत्र रहेको उदयपुरमा प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार रहेकोमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्का र मुख्य प्रतिस्पर्धी एमालेकी मञ्जु चौधरी बाहेक सबैको जमानत जफ्त भएको छ । उदयपुर क्षेत्र नम्बर १ मा कुल ७६ हजार ४ सय ५१ मत बसेकोमा ७१ हजार ४ सय ५५ मत बदर भएको थियो । जमानत जफ्त हुनेहरुमा राप्रपाका ध्रुव रायमाझी, राष्ट्र स्वतन्त्र पार्टीका उद्धव अधिकारी, जनता समाजवादी पार्टीका गोपाल राई, नेकपा मालेका रामप्रसाद चौलागाई, मंगोल नेशनल अग्रनाईजेशनका केशर बहादुर मगर, नागरिक उन्मुक्ती पार्टीका कृत नारायण चौधरी, सचेत नेपाल पार्टीका हरी बहादुर बुढाथोकी, लोसपाका खुशीलाल ठाकुर, राष्ट्रिय जनमुक्ती पार्टीका गोकर्ण राई, नेमकिपाका बिष्णु बहादुर खत्री, राप्रपा नेपालका ललकु चौधरी, जनता प्रगतीशिल पार्टी नेपालका मुकेश सहनी, संधिय लोकतान्त्रिक राष्ट्रिय मन्चका कम्पस बहादुर राई र स्वतन्त्र उम्मेदवार रामश्रेष्ठ चौधरी रहेका छन् ।
यस्तै उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर २ मा १२ जना उम्मेदवार रहेकोमा निर्वाचित एमाले उम्मेदवार अम्बर बहादुर रायमाझी, मुख्य प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीका जगन्नाथ खतिवडा र नेपाली कांग्रेसका बिद्रोही उम्मेदवार रामकुमार राई बाहेक बाँकी सबैको जमानत जफ्त भएको छ ।
त्यस्तै प्रदेश सभा तर्फ उदयपुर क्षेत्र नम्बर १ क मा ११ जना उम्मेदवार रहेकोमा निर्वाचित माओवादी केन्द्रका उम्मेदवार राजन किराँती र मुख्य प्रतिस्पर्धी नेकपा एमालेका कुशलबाबु बस्ने बाहेक बाँकी सबैको जमानत जफ्त भएको छ । उदयपुर क्षेत्र नम्बर १ क मा कुल ३८ हजार ८ सय ५७ मत खसेकोमा ३६ हजार ९ सय ८२ मत सदर भएको थियो । जसको १० प्रतिशत मत अर्थात झण्डै ३७ सय ल्याउन नसक्दा राप्रपाका सुवासचन्द्र खड्का, जसपा नेपालका गणेश कुमार राई, मंगोल नेशनल अग्रनाईजेशनका भुमिराज राई, हाम्रो नेपाली पार्टीका सुरेश ढकाल, सचेत नेपाली पार्टीकी कलपना सापकोटा, नेपाल संघीय समाजवादी पार्टीका दिनेश राई, नेमकिपाका गणेश बहादुर थापा र स्वतन्त्र उम्मेदवारद्वय जय प्रसाद सुवेदी र कुमार खड्काको जमानत जफ्त भएको छ । यस्तै उदयपुर क्षेत्र नम्बर १ ख मा निर्वाचित नेपाली कांग्रेसका हिमाल कार्की र मुख्य प्रतिस्पर्धी एमालेका ईश्वरमणी राउत तथा उदयपुर क्षेत्र नम्बर २ क मा नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर र मुख्य प्रतिस्पर्धी एमालेका देवराज राई बाहेक अरु उम्मेदवारको जमानत जफ्त भएको छ भने उदयपुर क्षेत्र नम्बर २ ख मा निर्वाचित नेपाली कांग्रेसका राम कुमार खत्री र एमालेका जीवनाथ दाहाल बाहेक अरु उम्मेदवारहरुको जमानत जफ्त भएको छ ।
