राजाबादीको प्रदर्शनमा घाईते भएकी रेविका खत्रीको उपचारका लागि परिवार ऋण खोज्न बाध्य ।

राजाबादीको तिनकुने प्रदर्शनमा घाईते भएकी चौदण्डीगढीकी रेविका खत्रीको उपचारका लागि परिवार ऋण खोज्न बाध्य भएका छन् । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ की २२ वर्षीया रेबिका खत्रीको उपचारका लागि सरकारले सोधभर्ना पैसा नदिएपछि परिवार ऋण खोज्न बाध्य भएका हुन् । घाइतेको उपचारको जिम्मा लिने घोषणा गरेको सरकारले एक रुपैयाँ पनि खर्च नदिएको घाईते रेविकाका वुवा समेत रहेका चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य तुलसीराम खत्रीले जानकारी दिएका छन् ।

अस्पतालभित्र सबै औषधि हुदैन, बाहिरको किन्दा पैसा नदिएसम्म पाइँदैन भन्दै उनले अहिलेसम्म रेविकाको उपचारमा ७ लाख रुपैयाँभन्दा बढी खर्च भएको बताएका छन् । सरकारसँग खर्च भएको रकमको बिल पेस गरिसकेको तर अहिलेसम्म सरकारबाट उपचार खर्च एक रुपैयाँ पनि ‘रिफन्ड’ नभएको उनको भनाई छ । काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार गराउँदा अस्पतालको खर्च बाहेक गत बैशाख ११ गतेसम्म ब्यक्तिगत ५ लाख ८ हजार ५ सय ४४ रुपैयाँ खर्च भैसकेको विल अस्पतालमा बुझासकिएको र करिव एक लाख ५० हजार रुपैयाँ बराबरको विल बुझाउन बाकी रहेको खत्रीले बताएका छन् ।

सिभिल अस्पतालमा उपचारत रहेकी रेविकाको अहिले काठमाडौं महाराजगंजस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एमसियुमा राखेर उपचार भै रहेको छ । सिभिल अस्पतालमा रहदाँ डा. सम्पुर्णको टोलीले रेविकाको उपचार गरिरहेको र डा. सम्पुर्ण काठमाडौंबाहिर जानुपर्ने भएकोले रेविकालाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरिएको खत्रीले बताएका छन् । मनमोहनमा राख्दा अहिलेसम्म ५० हजार रुपैयाँभन्दाबढी रकम बाहिरबाट ल्याउनुपर्ने औषधीहरुमा खर्च भैसकेको उनले बताएका छन् । बाहिरबाट ल्याउनुपर्ने औषधी तथा अन्य खर्चका लागि समेत चर्को ब्याजमा पैसा सापटी माग्नु परेको खत्रीले दुखेसो गरेका छन् । रेबिकालाई गोली लागेपछि अहिले खत्रीको परिवारले बेल्टार बजारमा सञ्चालन गरिरहेको डेरी पसल समेत बन्द रहेको छ भने घरको ढोका बन्द गरेर सबै परिवार काठमाडौंस्थित अस्पतालमा छोरीको कुरुवा बस्न बाध्य छन् । सामान्य परिवारका खत्रीलाई छोरीको औषधी लगायतमा लाग्ने खर्च जुटाउन धौधौ भैरहेको छ । खत्रीले आर्थिक समस्या भएपनि सरकारका निकायबाट सहयोगको आश्वासन आइरहेको र डाक्टरको टोलीले राम्रो उपचार गरिरहेको भन्दै सन्तोष लागेको बताएका छन् ।

गत चैत्र १५ गते काठमाडौंको नरेफाँटस्थित खाद्यान्न पसलबाट काम सकेर फर्किने क्रममा रेविकालाई प्रहरीको गोली लागेको थियो। दाहिने खुट्टामा लागेको गोलीले तिघ्राको मासु निकाल्दा मुटुदेखि आएको नसामा पनि असर पारेपछि रेबिकाको अवस्था सुरुदेखि नै जटिल रहेको चिकित्सकले बताउदै आएका छन्।