उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ध्वनीमतकासाथ पारित गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा आज आयोजित १८ औं नगरसभामा नगर प्रमुख कालुमान लामाले आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए् । नगरमा रहेका टोल विकास संस्थाका प्रतिनीधिहरुसंग सुझाव संकलन गरेर चौदण्डीगढी नगरपालिकाको ईतिहासमै पहिलो पटक प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक बर्षलाई भौतिक पुर्वाधार बर्षको रुपमा मनाईने बताइएको छ ।
नगर प्रमुख लामाले नगरपालिकाले लिने मुख्य नीतिमा आर्थिक बर्षलाई भौतिक पुर्वाधार बर्षको रुपमा मनाईने, एक टोल विकास एक योजना कार्यक्रम संचालन गरिने, एक वडा एक उत्पादन कार्यक्रम संचालन गरिने, पशु विमा कार्यक्रम, पुर्ण पशु खोप कार्यक्र तथा नश्ल सुधार कार्यक्रम संचालन गरिने, यस्तै कृषी क्षेत्रलाई आत्मनिर्भर बनाईने , तरकारी आयत बिस्थापनका साथै रैथाने बालीको संरक्षण गर्ने, गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउने, गुणस्तरीय शिक्षा प्रदान गर्न सामुदायिक बिद्यालयहरुको स्तरीकरण र संस्थागत बिद्यालयहरुको प्रभावकारी नियमन गरिने बताएका छन् । त्यस्तै नगर प्रमुख लामाले गलत तथा दुव्र्यवसनीमा परेका युवाहरुलाई समाजमा पुनःस्थापना गर्न विभिन्न सचेतनामुलक र पुनःस्थापना कार्यक्रम संचालन गरिने, महिला अपाङ्ग, दलित, विपन्न, अल्पसंख्यक समुदायको आय बृद्धी गर्न क्षमता अभिबृद्धी तथा सिप विकास तालिम संचालन गर्ने, सामाजिक समानता, लैङ्गिक समानता, जातिय विभेद हटाउने एवम् सांस्कृतिक र भाषा संरक्षणका लागि विभिन्न कार्यक्रम संचालन गर्ने, गाँउको विकास र बजारको ब्यबस्थापनलाई मध्यनजर गर्दै विकासका आयोजना तथा कार्यक्रम छनौट गर्दा जनतालाई अनुभुति हुनेगरी तत्काल प्रतिफल प्राप्त हुने, रोजगारी सृजना हुने तथा आयआर्जन हुने योजनाहरुलाई निरन्तरता दिने, आयोजनाहरुको संचालन तथा सम्पन्न गर्न सरकारी निकाय, राष्ट्रिय, अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा सरोकारवाला सबै क्षेत्रसंग समवन्य र सहकार्य गरी प्रभावकारी रुपमा संचालन गर्ने नीति लिने बताइएको छ ।
यस्तै योजना तथा कार्यक्रमहरु कार्यान्वन गर्दा जनसहभागितामा जोड दिदै दिगोपना, पारदर्शीता र जवाफदेहीता एवम् नतिजामुखी बनाउन ध्यान दिने, योजना छनौट गर्दा सम्भव र उपलब्ध भएसम्म स्थानीय श्रोत र श्रममा आधारित परियोजनाहरुलाई प्राथमिकता दिईने, प्राकृतिक श्रोतबाट संकलित राजस्वलाई नगरपालिका रहने रकमलाई सत प्रतिशत मानी त्यसमध्येको ५० प्रतिशत रकम सम्बन्धित वडा क्षेत्रको विकास, श्रोत संरक्षण, जोखिम ब्यबस्थापन लगायतका काममा खर्च गर्ने, यस्तै घाटा बजेट, अबण्डा बजेट, बार्षिक कार्यक्रमको पटक पटक संशोधन गर्ने जस्ता कार्यलाई क्रमश न्युनीकरण गर्दै सन्तुलित र अनुमानयोग्य बजेट निमार्ण तथा कार्यान्वयन गरिने नीति लिने नगरप्रमुख लामाले बताएका छन् ।
नगर प्रमुख लामाले आज प्रस्तुत गरेका नीति तथा कार्यक्रमका उदेश्यहरुमा स्वास्थ्य, शिक्षा खानेपानी लगायत मानव जीवनमा अत्याबश्यक क्षेत्रमा आबश्यक लगानी गर्नुका साथै सडक संजालले सबै नगर क्षेत्रलाई जोड्दै सुबिधा सम्पन्न नगरको रुपमा विकास गर्दै जाने, आम नगरबासीको जीवनस्तरमा सुधार ल्याउने, अनुदान तथा साभफेदारी बजेटको उच्चतम परिचालन गर्दै नगरभित्र रहेका श्रोत साधन, राजश्वको पहिचान र परिचालन गरी नगरको आर्थिक समृद्धि हासिल गर्ने, त्यस्तै आफ्नो टोल आफै बनाउ, आफ्नो वडा आफै बनाउ र आफ्नो नगर आफै बनाऔं भन्ने सोच र भावनासहित दिगो विकासमार्फत समुन्नत र समृद्ध नगर निमार्ण गर्ने, नगरभित्रको सबै हाटबजारको उचित ब्यबस्थापन गर्दै ब्यापारिक नाकाको रुपमा विकास गर्ने , वजेटलाई वितरणमुखी भन्दा पनि ठोस योजनामुखी र उत्पादनमुखी बनाउने , यस्तै बिभिन्न प्रकारका विपद् र महामारीबाट हुनसक्ने क्षतिको न्युनीकरण गर्दै नागरिकको जीवन रक्षामा सहयोग पुर्याउने रहेको छ ।
नगर प्रमुख लामाले प्रस्तुत गरेका नीति तथा कार्यक्रमलाई नगरसभाको हलले ध्वनीमतका साथ अनुमोदन गरेको छ । त्यसअघि वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकालले नगरमा रहेका विपन्न, दलित वर्गका घरको फुस र खरको छानालाई टिनको छानाले विस्थापित गर्नुपर्ने कुरा नीतिमा समेट्नु पर्ने बताएका थिए । त्यस्तै नगर प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले त्रियुगा नदीपारीको वडा नम्बर ५, ९ र १० का जनतालाई नगरसंग जोड्नपर्ने, स्वास्थ्य चौकी हडियामा एक जना एमविविएस डाक्टरको दरवन्दी राख्ने कुरा पनि नीति तथा कार्यक्रममा राख्नुपर्ने सुझाव दिएका थिए ।
आजको नगर सभामा नगर प्रमुख लामाले भुमी सम्बन्धी बिद्ययेक २०८२ र लेखा समितिका सभापति अम्बर बहादुर खड्काले प्रस्तुत गरेको सार्वजनिक लेखा समितिको प्रतिवेदनलाई पनि ध्वनीमतका साथ अनुमोदन गरेको छ । नीति तथा कार्यक्रम पारित भएसंगै नगर प्रमुख लामाले आगामी असार ६ गते नगरपालिकाले बजेट ल्याउने जानकारी गराउदै अर्को बैठक असार ६ गते बस्नेगरी स्थगित गरेका छन् ।