सुझाव संकलनका क्रममा आएका राम्रा कुराहरुलाई नीतिमा समेटेर लैजाने नगर प्रमुख लामाको प्रतिबद्धता ।

सुझाव संकलनका क्रममा आएका राम्रा कुराहरुलाई नीतिमा समेटेर लैजाने चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले प्रतिबद्धता जनाएका छन् । बेल्टार बजारस्थित नगरपालिकाको हलमा हिजो सोमबार आयोजित नगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बार्षिक नीति तथा कार्यक्रम एवम् बार्षिक वजेट तर्जुमा तयारी सम्बन्धमा आयोजित सर्वदलिय, सर्वपक्षिय छलफलसहितको राय सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले राम्रा कुराहरुलाई नीतिमा समेटेर लैजाने बताएका हुन् । सहकार्य गरेरै अगाडी बढ्ने आफ्नो चाहना रहेको उनले प्रष्ट पारेका छन् । नगर प्रमुख लामाले काम गर्न सकिने कुराहरुलाई मात्रै आगामी बर्षको नीति तथा कार्यक्रममा समिटिने बताउदै सडक पुर्वाधारलाई प्राथमिकतामा राखिने जानकारी दिएका छन् । अति आबश्यक ग्रामीण सडकहरुको स्तरोन्नती र कालोपत्रे गरिने लामाले बताएका छन् । आन्तरिक श्रोत जुटाउन सके बजेटको आकार पनि बढाउन सकिने लामाको भनाई छ ।

कार्यक्रममा पुर्व नगर प्रमुख खगेन्द्र राईले स्थानीय सरकार आफैमा वलियो सरकार भएकोले राम्रो काम गर्न डराउनु नपर्ने बताए । उनले आफुले नगर प्रमुखको रुपमा पालिका संचालन गरिसकेको बताउदै आफ्नो कार्यकालमा कृषी, शिक्षा लगायतका क्षेत्रमा राम्रो काम भएको दावी गरेका थिए । यस्तै जसपाकी नगर अध्यक्ष अन्जना राई , माओवादी केन्द्रका नगर सचिव विदुर राई लगायत अन्य सहभागीले पनि आगामी बर्ष नगरले नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमा आफ्नो सुझाव दिएका थिए । त्यसअघि बोल्दै प्रमुख प्रशासकिय अधिकृत काजीमान राईले यस आर्थिक बर्षमा संचालित योजनाहरु अधिकांश सम्पन्न हुने अबस्थामा रहेको जानकारी दिदै नीति तथा कार्यक्रम नगर सभाले पास गरिसकेपछि मात्रै आगामी बर्षको बजेट प्रस्तुत गरिने जानकारी दिएका थिए । उनले आगामी बजेटमा आन्तरिक श्रोतलाई वलियो बनाएर लैजाने, करको दायरालाई फराकिलो बनाएर लैजाने, प्रशासनिक खर्च कम गर्ने, चुवाहट कम गर्ने, कामहरु पारदर्शी रुपमा गर्ने बताएका थिए । कार्यक्रममा नगरमा क्रियाशिल राजनीतिक दलका प्रतीनीधि, वडा अध्यक्षहरु, शिक्षक, कर्मचारी, सामाजिक अगुवाहरुको उपस्थिती रहेको थियो ।


टोलसम्म नै विकास निमार्णका कार्यलाई लैजान तथा तल्लो तहमै पुगेर आबश्यक्ता पहिचान गर्न नगरमा रहेको २०६ वटै टोल विकास संस्थाका प्रतिनीधि र स्थानीय सरोकारवालाहरुसंग छलफल गरी स्थानीय आबश्यक्ताको पहिचान गरेर स्थानीय योजना बैंक बनाउने र योजनाहरु त्यहीबाट छनौट गरेर कार्यवन्यन गर्ने उदेश्यले नगरपालिकाले पहिलो पटक नगरको १० वटै वडा कार्यालयमा टोल विकास संस्थाका प्रतिनीधि, स्थानीय राजनीतिक दलका प्रतिनीधि, सामाजिक अगुवाहरुसंग अन्तरक्रिया कार्यक्रम गरेर आगामी आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम एवम् बार्षिक वजेट तर्जुमा सम्बन्धका सुझाव संकलन गरेको हो । भौतिक पुर्वाधार निमार्ण, शिक्षा, स्वास्थ्य, खानेपानी, नदी नियन्त्रण, पुल, कलभर्ट निमार्ण लगायतका स्थानीय आबश्यक्ताको बिषयमा योजना निमार्ण गर्न यस कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ ।