चौदण्डीगढी नगर शिक्षा, युवा तथा खेलकुद शाखाले संस्थागत बिद्यालयमा निःशुल्क छात्रबृतीका लागि आवेदन दिने समय थप गरेको छ । यसअघि गत चैत्र २९ गते एक सुचना जारी गर्दै शाखाले नगरपालिकाभित्र संचालित संस्थागत बोडिङ्ग स्कुलहरुले शैक्षिक शत्र २०८२ मा शिक्षा तथा नियमावली बमोजिम अनिवार्य उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क छात्रवृतीका लागि आवेदन फारम भर्ने मिति २०८२ साल बैशाख १५ गतेसम्मलाई तोकेको थियो । छात्रबृतीका लागि न्युन संख्यामा आवेदन आएपछि एक हप्ता समय थप गरिएको नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरले जानकारी दिएका छन् । अब बैशाख २२ गतेसम्म छात्रछात्राले आफु अध्ययनरत बिद्यालयको प्रशासन शाखा वा बेल्टार बजारस्थित नगरपालिकामा रहेको नगर शिक्षा शाखामा छात्रबृतीका लागि आवेदन दिनसक्ने छन् ।
शाखाले संस्थागत बिद्यालयहरुमा अध्ययनरत महिला, दलित, जनजाती, अपाङ्ग र विपन्न बर्गका छात्रछात्राबाट निःशुल्क छात्रबृतीका लागि आवेदन माग गरेको हो । परीक्षामा प्रथम र द्धितीय स्थान ल्याएका अध्ययनरत बिद्यार्थीले स्वतः छात्रबृती पाउने भएकोले उनीहरुले भने छात्रबृती फारम भर्न नपर्ने शिक्षा शाखा प्रमुख कुवँरले स्पष्ट पारेका छन् ।
नगरमा रहेका २० वटा संस्थागत बोडिङ्ग स्कुलहरुमा करिव ४ हजार ५ सय बालबालिका अध्ययनरत छन् । नगरको यस निर्णयबाट ४ सय ५० भन्दा बढी बिद्यार्थी लावाम्भित हुने नगर शिक्षा शाखाले जनाएको छ । यस अघि संस्थागत बिद्यालयले एकै घरपरिवारका ३ जना भए १ जनालाई निःशुल्क छात्रबृती दिने स्किम संचालन गर्दै आफुखुशी छात्रबृती वितरण गर्दै आएका थिए । तर नगरपालिकाले यसमा कडाई गर्दै कार्यबिधी अनुसार मात्रै छात्रबृती वितरण गर्न संस्थागत बिद्यालयहरुलाई सचेत गराएपछि ठुलो संख्यामा बिद्यार्थीले निःशुल्क पढ्न पाउने अबस्था सृजना भएको छ ।