शैक्षिक सुधारको कार्य योजना लागु गर्न नसक्ने भए प्रधानाध्यापकको जिम्मेवारीमा नबस्न नगर प्रमुख लामाको आग्रह ।

२३ फागुन २०८१, सन्तोष कुमार रौनियार…

सामुदायिक बिद्यालयमा शैक्षिक कार्यक्रम अन्तर्गत चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ मा विविध कार्यक्रम सम्पन्न भएको छ । वडा शिक्षा समितिको आयोजना र वडा नम्बर ८ को सहयोगमा जनता मावी लुङ्गगीनटार आज नगर स्तरीय हिसाबको हिरो, शब्द सम्राट र वडा स्तरीय हाजरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले नगर शिक्षा शाखाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि गरिरहेको अभियानलाई यस किसमिको कार्यक्रमले सहयोग पुग्ने बताएका थिए । उनले अभिभावक र बिद्यालयबीचको अन्तरक्रिया कार्यक्रमलाई हरेक बिद्यालयले अगाडी बढाउनुपर्ने र शैक्षिक योजना बनाएर लागु गर्नुपर्ने बताएका थिए । शैक्षिक सुधारको कार्य योजना लागु गर्न नसक्ने भए प्रधानाध्यापकको जिम्मेवारीमा नबस्न पनि उनले आग्रह गरेका गरेका थिए । यस्तै नगर प्रमुख लामाले नीजि बोडिङ्ग स्कुलको तुलनामा अझैपनि सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु निजामति तथा सरकारी सेवामा नाम निकाल्न सफल भैरहेको बताउदै सामुदायिक बिद्यालयमा अध्ययन गरेकोमा हिनताबोध गर्न जरुरी नभएको जिकिर गरेका थिए ।

नगरका संचालित १९ मध्ये ९ वटा सामुदायिक माध्यमिक बिद्यालयले सहभागिता जनाएको प्रतियोगितामा हिसाबको हिरो नगर स्तरीय प्रतियोगिताको विजेता सिद्धेश्वरी मावी हडियाका विज्ञानराज थापा भएका छन् । यस्तै दोश्रो स्थानमा जनता मावी लुङ्गगीनटारकी स्मृती राई, तेश्रो स्थानमा ज्योति मावी बेल्टारका सौरभ पराजुली र सान्तवना पुरुस्कार जनता मावी हडियाकी संज्ञाता खड्का प्राप्त गरेका छन् । त्यस्तै शब्द सम्राट नगर स्तरीय प्रतियोगितामा प्रथम जनता मावी लुङ्गगीनटारकी दिना राई प्रथम, जनता मावी हडियाकी अपना ओझा द्धितीय, ज्योति मावी बेल्टारकी लाजिमा राई तृतीय र श्री मावी सिवाईकी दिपिका खड्काले सान्तवना पुरुस्कार प्राप्त गरेका छन् । यस्तै वडा स्तरीय हाजरीजवाफ प्रतियोगितामा जनता मावी लुङ्गगीनटार प्रथम, गौरीकन्या आधारभुत बिद्यालय सिमलटार द्धितीय , सरस्वती मावी साँवा तृतीय र आदर्श आधारभुत बिद्यालय अप्राहाका बिद्यार्थीले सान्तवना पुरुस्कार प्राप्त गरेका छन् ।

हिसाबको हिरो प्रतियोगिताको निर्णायकमा ज्योति मावी बेल्टारका शिक्षक भविन्द्र बस्नेत तथा शब्द सम्राट प्रतियोगिताको निर्णायकमा नगर शिक्षा शाखाकी पुष्पा तामाङ्ग रहेका थिए । विजेताहरुलाई नगर प्रमुख कालुमान लामा, नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुवँर, वडा अध्यक्ष भगनाथ मगर लगायतले पुरुस्कार प्रदान गरेका थिए ।