२१ फागुन २०८१, सन्तोष कुमार रौनियार…
नेकपा एमालेको जराकेन्द्रित अभियान बारे अभिमुखीकरण कार्यक्रम चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ मा सम्पन्न भएको छ । बेल्टार बजारस्थित एमाले पार्टी कार्यालयमा आज सम्पन्न अभिमुखीकरण कार्यक्रममा वडा नम्बर ६ का अगुवा कार्यकर्ताहरु सहभागी भएका थिए ।
प्रदेश कमिटी सदस्य तथा चौदण्डीगढी नगर ईन्चार्ज कान्ता राईको प्रमुख आतिथ्यता तथा ६ नम्बर वडा कमिटी अध्यक्ष बच्चु सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जराकेन्द्रित अभियान र यसका उदेश्यहरुको बारेमा एमाले उदयपुरका जिल्ला सचिवालय सदस्य तथा पार्टि स्कुल विभाग सचिव किशोर ताम्राकारले प्रशिक्षण दिएका थिए । उनले जरा केन्द्रित अभियानको उदेश्य टोल र वडा जस्ता स्थानीय तहमा पार्टीको सवलीकरण गर्ने, पार्टीको नीति र नेतृत्वलाई जनतामा स्थापित गराउने, पार्टीलाई विधी, नीति, पद्धती र प्रणालीमा संचालन गर्ने, पार्टी जीवनको शुद्धिकरण गर्ने, कार्यकर्तामा आत्मविश्वास र जनतामा आशा जगाउने लगायत रहेको बताएका थिए । प्रशिक्षक ताम्राकारले आगामी २०८४ सालको चुनावमा पार्टीको पक्षमा ५१ प्रतिशत मत ल्याउने गरी तयार बनाउन जराकेन्द्रित अभियानले सहयोग पुग्ने बताएका थिए ।
नेकपा एमालले पार्टीको तल्लो तहमा सदस्यता नविकरण, विस्तार, संगठन निमार्ण र सवलीकरणका लागि ३ महिने जराकेन्द्रित अभियान देशैभर संचालन गरिरहेको छ । सोही क्रममा आज चौदण्डीगढीको वडा नम्बर ६ मा पनि अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा राप्रपाका शेर बहादुर कार्की सहित प्रताप मगर र बिबिध रसाइली नेकपा एमाले पार्टी प्रवेश गरेका थिए । उनीहरुलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख तथा एमाले उदयपुरका उपाध्यक्ष कालुमान लामा, नगर ईन्चार्ज कान्ता राई, पुर्व प्रदेश कमिटी सदस्य वेदप्रसाद पोखरेल लगायतले स्वागत गरेका थिए ।