२० फागुन २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा आजदेखी दोश्रो मेयर कप खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । युवा तथा खेलकुद विकास समिति वडा नम्बर १ चौदण्डीको आयोजनामा चौदण्डीगढी दरवार परिसरस्थित खेल मैदानमा आजदेखी शुरु भएको प्रतियोगितामा उदयपुर, खोटाङ्ग र भोजपुर जिल्लाका बिभिन्न पालिकाकागरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफ्री र प्रमाण पत्र, त्यस्तै उप विजेताले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफ्री र प्रमाण पत्र र तृतीय स्थान हासिल गर्ने टिमले नगद १० हजार रुपैयाँसहित मेडल, ट्रफ्री र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले एक समारोहबीच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले चौदण्डीगढीको ऐतिहासिकता झल्काउने बिभिन्न कार्यक्रमहरु नगरपालिकाले आयोजना गर्ने गरेको जानकारी दिदै चौदण्डीगढीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पहल गरिरहेको बताएका थिए । उनले रानीटार र बंशिलाघाट जोड्ने सडकको निमार्ण गर्न सकिएमा आन्तरिक पर्यटक बढ्ने विश्वास ब्यक्त गरेका थिए । प्रतियोगिताको समापन विहिवार हुने आयोजकले जानकारी दिएको छ ।