११ फागुन २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरमा संचालित संस्थागत बोडिङ्ग बिद्यालयका शिक्षकहरुका लागि क्षमता अभिबृद्धी तालिम संचालन गरेको छ । फागुन ८ गतेदेखी १० गतेसम्म ३ दिनसम्म संचालन भएको तालिममा संस्थागत बिद्यालयका शिक्षकहरुलाई पाठ्यक्रम मुल्यांकन तथा आईटम राईटिङ्ग सम्बन्धि क्षमता अभिबृद्धी तालिम प्रदान गरेको हो । नगर शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा प्याबसन चौदण्डीगढी नगर समितिको आर्थिक सहयोगमा तालिम संचालन गरिएको हो ।
संस्थायत बिद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई प्रश्नपत्र निमार्ण , पाठ्यक्रम सम्बन्धी जानकारी, बिद्यार्थीको मुल्यांकन सही तरिकाबाट गर्ने, पाठ्यक्रमले निर्धारण गरेका सिकाई उपलब्धीहरु , सिकाई उपलब्धीको मापन गर्ने तरिकाहरुको बारेमा जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको शिक्षा शाखा चौदण्डीगढीका शिक्षा अधिकृत तथा तालिम सहजकर्ता सुरज कार्कीले बताएका छन् । साथै आन्त्रिक मुल्यांकन गर्दा ध्यान दिनुपर्ने कुराहरुबारे बिषयगत जानकारी पनि तालिममा प्रदान गरिने कार्कीले बताएका छन् । तालिमले वालवालिकाको मुल्यांकन प्रक्रियालाई बैधानिक, विश्वसनीय र बस्तुनिष्ठ बनाउन सहयोग पुग्ने उनले जानकारी दिएका छन् ।संस्थागत बिद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई पनि यस किसिमको तालिम समाबेश गराउनु पर्ने प्याबसनको माग बमोजिम नगर शिक्षा शाखाले तालिमको आयोजना गरेको हो ।
तालिमको सुरुवात गर्दै नगर प्रमुख कालुमान लामा सामुदायिक र संस्थागत बिद्यालयबिचको शैक्षिक गुणस्तरको खाडल पुर्न सबै लाग्नुपर्ने बताएका थिए । उनले साझा बिषबस्तुमा सामुदायिक र संस्थागत बिद्यालयबीच अन्तरक्रियाको कार्यक्रमलाई प्रोत्साहित गरिने यस किसिमका तालिमका कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए । यस्तै प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर श्रेष्ठले बालमानोविज्ञानको अध्ययन गरी बिद्यालयहरुलाई वालमैत्री बिद्यालयहको रुपमा विकास गर्नुपर्ने बताएका थिए । उनले संस्थागत बिद्यालयबाट उत्पादन भएका बिद्यार्थीहरुलाई निजामति सेवा लगायतका क्षेत्रमा पनि आकर्षित गर्ने गतिबिधीहरु संस्थागत बिद्यालयले गर्नुपर्ने बताएका थिए । तालिममा नगरमा संचालित २० वटा संस्थागत बिद्यालयबाट २३ जनाको सहभागिता रहेको थियो ।