भुक्तानी नपाउदा देवधारस्थित त्रियुगा नदीमा निमार्णधिन मोटेरेवल पक्की पुलको निमार्ण निर्धारित समयमै सकिनेमा आशंका ।

११ फागुन २०८१, सन्तोष कुमार रौनियार…

गरेको कामको भुक्तानी नपाउदा चौदण्डीगढी नगरपालिकाको देवधारस्थित त्रियुगा नदीमा निमार्णधिन मोटेरेवल पक्की पुलको निमार्ण निर्धारित समयमै सकिनेमा आशंका भएको छ । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर  १० को देवधार र  हडिया तथा त्रियुगा नगरपालिकाको वडा नम्बर १ जोगीदहबासीलाई मदन भण्डारी लोकमार्गसँग सोझो यातायातले जोड्ने यो पुलको निमार्ण १ वर्षअघि सुरु भएको हो । साईट ईन्जार्च प्रमोद कर्णका अनुसार ६ मध्ये हालसम्म ४ वटा पिल्लरको निमार्ण सम्पन्न भएको छ । बर्खाअघि ६ बटै पिलर र ५ वटा मध्ये एक वटा स्लावको काम सक्ने लक्ष्य रहेको भएपनि आर्थिक अभावमा सो काम सक्नेमा आशंका छ । साईट ईन्जिनियर प्रेम साहले ४ करोडको बिलिङ्ग गर्दा २ करोड पनि भुक्तानी नपाईने गरेकोले काम कहिले सम्पन्न हुनेबारे भन्न नसकिने बताए । उनले हालसम पुलको ३५ प्रतिशत काम सम्पन्न भैसकेको र आर्थिक समस्या नहुने हो भने निर्धारित समयमै पुल सम्पन्न हुने बताएका छन् ।

पाईल फाउण्डेशन प्रविधिमा निर्माण भैरहेको पुलको लम्बाई ३ सय २० मिटर रहेको छ भने चौडाई ११ मिटर रहेको छ । जसमा साढे ७ मिटर कालोपत्रे र दुबैतर्फ १–१ मिटर चौडाईको पैदल मार्ग रहेको छ । सम्झौताअनुसार २०८३ साल जेठ २० गते निमार्ण सम्पन्न भै हस्तान्तरण गर्नुपर्ने पुल ठेकेदारले गरेको कामको भुक्तानी नपाउँदा कामले गति लिन सकेको छैन । मूल्य अभिबृद्धि कर र पिएससहित ४० करोड ३४ लाख ८८ हजार ८ सय रुपैँयामा पुल बनाउने ठेक्का एम÷एस सूर्य एण्ड सन्स् प्रालि धरान सुनसरीले पाएको छ । २०७९ साल मङ्सिर २१ गते नै सम्झौता भए पनि स्थलगत अध्ययन र प्राविधिक डिजाईन गर्न ९ महिना समय लाग्दा पुलको काम १ वर्षपछि मात्र सुरु भएको थियोे ।
एता पुल निमार्णको कामले गती नलिदाँ स्थानीय भने चिन्तित छन् । मदन भण्डारी लोकमार्गसंग जोड्ने पुलको निमार्ण समयमा नसकिने हो भने बर्खायामका टापुको बास हुने सिवाई, सुन्दरपुर र हडियाबासीलाई सामान्य कामको लागि नगरको प्रशासनिक तथा ब्यापारिक केन्द्र बेल्टार आउजाउ गर्न वा औषधी उपचारका लागि बाहिर जान पनि समस्या हुनेछ । १० औं हजार बासिन्दाको बसोबास रहेको यस भेगका बासिन्दाले बर्खायाममा जोखिमपुर्ण तथा कष्टकर यात्रा गर्नुपर्ने हुन्छ । सिवाई र बेल्हा जोड्ने भत्केको पुलको जस्तै यस पुलको पनि हालत हुनेमा स्थानीय चिन्तित छन् ।

 

सच्याइएको : वडा नम्बर ९ को देवधार भनि यसअघि उल्लेख गरिएकोमा त्यसलाई सच्याइएको छ ।