चौदण्डीगढी नगरपालिकाको ७ महिनाको पुँजिगत खर्च १८ प्रतिशत ।

०९ फागुन २०८१, सन्तोष कुमार रौनियार…

 

उदयपुरको चौदण्डीगढी नगरपालिकाको ७ महिनाको पुँजिगत खर्च १८ प्रतिशत मात्र देखिएको छ । आर्थिक बर्षको शुरुवात श्रावण १ गतेबाट हुने भएपनि भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने योजनाहरुको ठेक्का प्रक्रिया नै ढिलोगरी शुरु हुदाँ योजनाहरुको भुक्तानी आर्थिक बर्षको अन्तमा उच्च देखिने गरेको छ । ढिलोमा दशै तिहारअघि नै योजनाहरुको टेण्डर आवहान भै सक्नुपर्नेमा अहिले पनि कतिपय योजनाहरु ठेक्का प्रक्रिमा नै छन् । लेखा शाखा प्रमुख महेश राना मगरका अनुसार चालु खर्चतर्फ माघ मसान्तसम्म ५४.६५ प्रतिशत खर्च भएको छ भने पुजिँगततर्फ १७.८६ प्रतिशत मात्र खर्च भएको छ ।आर्थिक बर्ष २०८१/०८२ मा चालुतर्फ ५८ करोड ३० लाख ४ हजार ३९६ रुपैयाँ विनयोजन गरिएकोमा ३२ करोड २ लाख ६६ हजार ४६७ रुपैयाँ खर्च भएको छ भने पुजिँगततर्फ २२ करोड ३२ लाख ३५ हजार २६४ रुपैयाँ विनयोजन भएकोमा ३ करोड ९८ लाख ६९ हजार ९६० रुपैयाँ मात्र खर्च भएको छ ।

प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर श्रेष्ठले नगरको गौरवका योजनाहरु तथा प्रदेश र संघ सरकारबाट प्राप्त ठुला योजनाहरुको काम भैरहेको तर काम सम्पन्न नभएकोले भुक्तानी नभएको बताएका छन् । उनले हाल योजना निर्माणको काम भएकाले भुक्तानीको रकम मात्र खर्च देखिए पनि रनिङ बील र भुक्तानीको पाईपलाईनमा रहेका योजनाहरुसमेत जोड्ने हो भने खर्च प्रतिशत बढ्ने बताएका छन् । ठुला योजनाहरुको भुक्तानी भएपछि पुजिँगततर्फको खर्च बढ्ने उनको भनाई छ । हाल उपभोक्ता समितिबाट भएका तथा साना योजनाहरुको कामको भुक्तानी मात्र भएकोले पुँजीगत खर्च कम देखिएको उनले बताए । बैशाख महिनासम्ममा धेरै योजना सम्पन्न हुने भएकोले त्यसबेला पुँजीगत खर्च उच्च देखिने उनको भनाई छ ।

नगरले यस आर्थिक बर्षमा सडक पुर्वाधार विकासमा जोड दिएको तथा नगरको १० बटै वडामा कालोपत्रे सडक निमार्ण तथा ग्रामिण सडक स्तरोन्नतीलाई नगरको गौरवको योजनाको रुपमा समेटेको छ । त्यस्तै साना सिचाईका योजनाहरुलाई पनि प्राथमिकतामा राखेको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताएका छन् । उनले यस बर्ष कार्यन्वयन गरिने सबै योजनाहरुको ठेक्का आवहान भैसकेको जानकारी दिदै आर्थिक बर्षको अन्तसम्ममा सतप्रतिशत नै पुँजीगत खर्च हुने बताएका छन् ।