०६ फागुन २०८१, सन्तोष कुमार रौनियार…
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की भोली चौदण्डीगढी नगरपालिकाको बसहामा आउने भएका छन् । प्रजातन्त्र सेनानी, २००७ सालका योद्दा तथा बसहा बस्ती बसाउने मुख्य ब्यक्तित्व स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक अनावरण कार्यक्रमका लागि मुख्यमन्त्री कार्की भोली बसहा आउन लागेका हुन् । थुलुङ्गको सम्मानमा चौदण्डीगढी नगरपालिकाले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन मदन भण्डारी लोकमार्गको बसहा बर्खेडाँडास्थित चौकमा रहेको स्वर्गीय थुलुङ्गको अर्ध कदको ढुंङ्गाको शालिक हटाएर त्यस स्थानमा फाईवरको पुर्ण कदको शालिक प्रतिस्थापना गर्न लागेको छ । नगरको ६ लाख रुपैयाँको लागतमा थुलुङ्गको १० फिट अग्लो फाईवरको शालिक निमार्ण गरी प्रतिस्थापन गर्न लागेको हो । सानो आकारमा रहेको शालिक बाटोमा पनि नदेखिने तथा पहिचान गर्नसम्म कठिन भएकोले नगरले उनको सम्मानमा ठुलो आकारको शालिक राख्न लागेको बताइएको छ । स्वर्गीय नारदमुनी थुलुङ्ग कुनै जाती विशेष, दल वा भुगोलको भन्दा पनि राष्ट्रको नै विभुती र साझा ब्यक्तित्व भएकोले सरकारले त्यसको अपनत्व लिनुपर्छ भन्ने सोचेर नगरपालिकाले त्यसका लागि पहल गरेको र मुख्यमन्त्रीबाट शालिक अनावरण गर्न लगाएर सम्मान गर्न खोजेको नगरपालिका स्रोतले बताएको छ ।
भोली दिउँसो १ बजेदेखी हुने कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको छ । यसैबिच जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक एसएसपी हरीहरनाथ योगी र स–शस्त्र प्रहरी वल उदयपुरका प्रमुख एसएसपी सुशिल कुमार शाही लगायतको सुरक्षा निकायको टोलीले आज बसहा पुगेर कार्यक्रमको सुरक्षा अबस्थाको बारेमा जानकारी लिएका छन् । सुरक्षा अबस्था सामान्य रहेको भएता पनि सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर भोली कटारी, गाईघाट, रामपुरबाट थप सुरक्षाकर्मी ल्याएर परिचालन गरिने स्रोतले जानकारी दिएको छ । थुलुङ्गको अर्ध कदको ढुङ्गाको शालिक हटाएर फाईवरको शालिक राख्ने निर्णयमा नारदमुनी थुलुङ्ग स्मृती परिषदले असन्तुष्टी जनाइरहेको छ भने पहिचावादीहरुले समेत कोशी प्रदेश नामाकरणमा मुख्य भुमिकामा रहेका कारण मुख्यमन्त्री कार्कीको विरोध गरिरहेका छन् ।
यसैबिच नगरपालिकाले यसअघिको अर्धकदको शालिक अनावरणको समयमा भएको शिलालेखलाई पनि नयाँ बन्ने शिलालेखसंगै राखिने जनाएको छ । नारदमुनी थुलुङ्ग स्मृती परिषदले अर्धकदको शालिक राख्दाको समयको ईतिहास मेट्न खोजेको गुनासो गरेपछिे पुरानो शिलालेख पनि संगै राख्ने निर्णय भएको बताइएको छ ।
एता मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई कार्यक्रममा नआउन नगरमा क्रियाशिल राजनीतिक दलहरुले उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत ध्यानाकर्षण गराइएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । नारदमुनि थुलुङको गरिमालाई उच्च सम्मानकासाथ कायम गर्नु पर्ने र उनको योगदानालाई कदर गर्नु पर्ने ठाउमा अवमूल्यन गर्न खोजिएको उनीहरुको आरोप छ । नारदमुनि राज्यकै साझा एक महान पुरुष तथा सम्मानित व्यक्तित्व भएकोले उनको नाममा आयोजना हुने कार्यक्रम विवादित हुन अशोभनीय भएको भन्दै कार्यक्रमलाई अर्को मितिमा सार्न ध्यानाकर्षणपत्रमार्फत आयोजकलाई आग्रह गरिएको छ । ध्यानाकर्षणपत्रमा हस्ताक्षर गर्ने दलहरुमा नेपाली काङ्ग्रेसका नगर सभापति राजेन्द्र पौडेल, माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश राई, जसपाकी नगर अध्यक्ष अन्जना राई रहेका छन ।