०४ फागुन २०८१, सन्तोष कुमार रौनियार…
अतिक्रमित सरकारी जग्गा खाली गराउन उदयपुरको चौदण्डीगढी नगरपालिका एक्सनमा आएको छ । गत बर्ष नै वडा नम्बर ७ द्वार खोला आसपासको नदी उकास जग्गा बिभिन्न ब्यक्तिहरुले अतिक्रमण गरी संरचना निमार्ण गरेको जनगुनासो आएको भन्दै नगरपालिकाले २०८० साल मंसिर २१ गतेबाट लागु हुनेगरी ३५ दिने सुचना जारी गरेको थियो । तर गत माघ ६ गते नगरपालिकाबाट जनप्रतिनीधि, कर्मचारी, नगर प्रहरी र टोल विकास समितिका पदाधिकारीहरु र स्थानीय बुद्धिजिवीसहित गएको टोलीले सो क्षेत्रको अनुगमन गरी द्वारखोला छेउ सिमांकन गरेपछि नगरपालिकाले माघ ७ गते १५ दिने सुचना र माघ २३ गते अतिक्रमित नदी उकास जग्गा खाली गर्न ७ दिने सुचना जारी गरेको थियो । सुचनामा अतिक्रमित जग्गा खाली नगरेमा कानुन अनुसार भैजाने उल्लेख थियो ।
सोही अनुसार आज कार्यपालिका सदस्य तिलावती राईको नेतृत्वमा वडा नम्बर ७ का वडा सदस्यहरु, जनपद प्रहरी, स–शस्त्र प्रहरी , नगर प्रहरी, टोल विकास संस्थाका प्रतिनीधि र स्थानीय बुद्धीजिवीहरुसहितको टोलीले कृषी बजारदेखी बाख्रा र पशुहडियासम्मका अबैध संरचनाहरु डोजर प्रयोग गरी हटाएको छ । धेरैजसो स्थानमा जग्गा अतिक्रमण गर्नेहरुले भने आफै टहरा, खोर लगायतका संरचना हटाएका थिए । यस क्षेत्रमा ३८ वटा बंगुरको खोर, १५ वटा बाख्राको खोर, दाउरा राख्ने टहरा, भान्साघर २ वटा , कच्ची शौचालय २ वटा लगायतका संरचना रहेका छन् । नगरपालिकाले आज सो क्षेत्रका केही संरचनाहरु हटाएको छ । यस्तै बाँकी संरचनाहरुले चाडै नै हटाउने नगर प्रहरी प्रमुख असई गणेश कार्कीले जानकारी दिएका छन् ।
नगरपालिकाले गत बर्ष नै वडा नम्बर ६ र ७ मा पर्ने द्वारखोला आसपासको नदी उकास जग्गाको वर्तमान अबस्थाको पहिचान, उकास जग्गाको संरक्षणका लागि आबश्यक तर्जुमा गरी संरक्षण गर्न सहयोग गर्न तथा तीव्ररुपमा भैरहेको जग्गाको अतिक्रमणलाई निरुत्साहित गर्ने उदेश्यले नगरको नापी शाखा प्रमुख अमिन पदम बिक्रम शाही, अमिन प्रकाश आचार्य, नगर प्रहरी संयोजक गणेश कुमार कार्की र नायव सुब्बा नवराज वराल रहेको एक अध्ययन टोली गठन गरेको थियो । प्रतिवेदन अनुसार द्वारखोला नदी उकास जग्गा २१ विगहा १ कठ्ठा १४ धुर देखिएको थियो भने उक्त जग्गामा २१ वटा पक्की घर, १५० वटा कच्ची घर, १४ वटा गोठ र ९२ वटा वंगुरको खोर निमार्ण भै अतिक्रमणमा परेको रिपोर्टमा उल्लेख थियो । यस्तै उक्त जग्गाहरु खरिदबिक्री समेत भएको रिपोर्टमा भनिएको थियो । त्यस्तै अध्ययन टोलीले वडा नम्बर ६ स्थित औद्योगिकग्रामको लागि प्रस्तावित ११ बिगहा ११ कठ्ठा १२ धुर जग्गा समेत अतिक्रमणमा परेको जनाएको छ । उक्त क्षेत्रको जग्गा बिस्तारै स्थानीय बासिन्दाहरुबाट अतिक्रमण हुदै गएको देखिएकोले संरक्षणका लागि तत्कालै घेराबेरा गर्ने तथा वनमारा लगायतका झारपात हटाउन सुझाव दिएको थियो ।
अध्ययन टोलीले हाल आँप खहरे सामुदायिक वन समितिको निर्णय अनुसार सामुहिक कृषी उपज केन्द्रलाई आर्यआर्जनको लागि उपलब्ध गराएको ५ विगहा १४ कठ्ठा १ धुर जग्गा र औद्योगिकग्रामको लागि प्रस्तावित ११ बिगहा ११ कठ्ठा १२ धुर जग्गा समेत समेटी १७ विगहा ५ कठ्ठा १३ धुर जग्गा औद्योगिकग्रामको लागि छुट्याउन उपयुक्त हुने सुझाव समेत दिएको थियो ।