०४ फागुन २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडा चौकमा स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक प्रतिस्थापन गरिने भएको छ । ऐतिहासिक ब्यक्तित्व तथा २००७ सालका क्रान्तिका योद्दा , बसहा बस्ती बसाउने प्रेरक ब्यक्तित्व थुलुङ्गको सम्मानमा चौदण्डीगढी नगरपालिकाले मदन भण्डारी लोकमार्गको बसहा बर्खेडाँडास्थित चौकमा रहेको स्वर्गीय थुलुङ्गको अर्ध कदको ढुंङ्गाको शालिक हटाएर त्यस स्थानमा फाईवरको पुर्ण कदको शालिक प्रतिस्थापन गर्न लागेको छ । सानो आकारमा रहेको थुलुङ्गको अर्ध कदको शालिक हटाएर पुर्ण कदको शालिक राख्न लागेको हो । नगरको ६ लाख रुपैयाँको लागतमा थुलुङ्गको १० फिट अग्लो फाईवरको शालिक निमार्ण गरी यही फागुन ७ गते प्रजातन्त्र दिवसको दिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।
सानो आकारमा रहेको शालिक बाटोमा पनि नदेखिने तथा पहिचान गर्नसम्म कठिन भएकोले नगरले उनको सम्मानमा ठुलो आकारको शालिक राख्न लागेको बताइएको छ । यस बाहेक नगरपालिकाले नारदमुनी थुलुङ्ग स्मृती गोल्ड कपको आयोजनामा आफै मुख्य प्रायोजक भएर लाखौ रुपैयाँ दिने गरेको छ भने नारदमुनी रंगशाला निमार्णको कार्यमा पनि सहयोग गरिरहेको छ । स्वर्गीय नारदमुनी थुलुङ्ग कुनै जाती विशेष, दल वा भुगोलको भन्दा पनि राष्ट्रको नै विभुती र साझा ब्यक्तित्व भएकोले सरकारले त्यसको अपनत्व लिनुपर्छ भन्ने सोचेर स्थानीय सरकारले त्यसका लागि पहल गरेको र मुख्यमन्त्रीबाट शालिक अनावरण गर्न लगाएर सम्मान गर्न खोजेको नगरपालिका स्रोतले बताएको छ ।
एता नारदमुनी थुलुङ्ग स्मृती परिषदले एक विज्ञप्ती जारी गर्दै विना सरसल्लाह थुलुङ्गको अर्ध कदको ढुङ्गाको शालिक हटाएर फाईवरको शालिक राख्ने निर्णयमा असन्तुष्टी जनाएको छ । आज परिषदको तर्फबाट एक बिज्ञप्ती जारी गर्दै परिषदका अध्यक्ष भिम वान्तवाले सम्बन्धित सरोकारवालाहरुलाई जानकारी नगराइएको र समन्वय नगरिएको भन्दै पुनः छलफल गरेर कुनै अर्को मितिमा साझा कार्यक्रम आयोजना गर्न आग्रह गरेका छन् ।