०२ फागुन २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर २ सुघारेमा ६० विघा जग्गा सिचाई गर्नका लागि डिप बोरिङ्ग गर्ने कार्यको सुरुवात गरिएको छ । आज नगर प्रमुख कालुमान लामाले कृषीका लागि उर्वर भुमी भएपनि सिचाईको अभावमा राम्रो उव्जनी हुन नसकिरहेको सो क्षेत्रमा सिचाई पुर्याउनका लागि डिप बोरिङ्ग कार्यको सुरुवात गरेका छन् । भूमिगत सिचाई योजना झापाको १ करोड लागतमा निमार्ण हुने डिप बोरिङ्ग योजनाले ६० बिघामा सिचाई हुने वडा अध्यक्ष हरी खड्काले जानकारी दिएका छन् ।
डिप बोरिङ्ग कार्यको सुरुवात गर्दै नगर प्रमुख लामाले नगरले किसानहरुको समस्यालाई प्राथमिकतामा राखेको जनाउदै कुलो निमार्ण गरेर तथा डिप बोरिङ्गबाट भुमीगत पानी निकालेर बाझो रहेको खेतबारीलाई सिंचित गराउने कार्यमा लागेको र यसका लागि बिभिन्न निकायहरुसंग साझेदारी गरेर कार्य गरिरहेको जानकारी दिएका छन् । उनले कृषकका लागि उपकरण, विउविजनमा पनि नगरले सहयोग गरिरहेको बताएका छन् । कृषीमा नगरलाई आत्मनिर्भर बनाएर यस क्षेत्रको प्रगती गर्न सकिने नगर प्रमुख लामाको भनाई छ । यस योजनाले माथिल्लो सुघारेको ६० बिघा क्षेत्रफलमा सिचाई सुबिधा पुग्ने बताइएको छ ।
यस्तै नगर प्रमुख कालुमान लामाले आज नै वडा नम्बर ६ र ८ जोड्ने कालीदह–औतारीथान–बेल्टार बजार–कालीटार हुदै हिलेखोलासम्म जाने सडकको स्तरोन्नती योजनाको शिलान्यस गरेका छन् । सो सडक खण्ड अन्तर्गत पर्ने कज्वेको नगर प्रमुख लामाले शिलान्यस गरेका हुन् । यस योजना अन्तर्गत कज्वे, होमपाईप र कल्भर्ट निमार्ण तथा सडक कालोपत्रे रहेको छ । चौदण्डीगढीकै वि एण्ड वि निमार्ण सेवाले सो सडकको निमार्ण कार्यको ठेक्का प्राप्त गरेको छ । कुल ९६ लाख ५७ हजार २५५ रुपैयाँ विनयोजन भएकोमा भ्याटसहित ८६ लाख २ हजार ९५ रुपैयाँको ठेक्का सम्झौता भएको ठेकेदार कृष्ण कोईरालाले जानकारी दिएका छन् । काम सम्पन्न हुने मिति आगामी जेठ ३० गतेसम्म रहेको छ भने कालोपत्रेको काम वडा नम्बर ७ स्थित बेलबोर्ट रिसोर्टदेखी ४२७ मिटर लम्बाई र ५ मिटर चौडाईको प्रिमिक्स गुणस्तरको कालोपत्रे सडक निमार्ण हुने कोईरालाले बताएका छन् ।
यस्तै नगर प्रमुख लामाले आज नै वडा नम्बर ८ विरेन्द्र बजारस्थित बाटोसहितको कृषी बजारको समेत शिलान्यास गरेका थिए । कार्यक्रममा उप प्रमुख मणिकादेवी दुलाल, वडा अध्यक्ष भगनाथ मगर लगायतको उपस्थिती रहेको थियो ।