चौदण्डीगढीमा सञ्चालित अपाङ्गता सम्बन्धी कार्यक्रममा विदेशीको समेत चासो।

१४ माघ २०८१, सन्तोष कुमार रौनियार…

 

चौदण्डीगढी नगरपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापन सम्बन्धी कार्यक्रममा विदेशीले समेत चासो देखाएका छन् । कोशी प्रदेशका १३७ वटा पालिकाहरुमा संचालित अपाङ्गता रोकथाम तथा पुनःस्थापन कार्यक्रम मध्ये चौदण्डीगढी नगरपालिकामा नमुना काम भएको भन्दै सियरालियोन र ईथियोपियामा अपाङ्गताको क्षेत्रमा काम गर्ने सामाजिक संस्थाका प्रतिनीधि मण्डलले आज नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अधिकृत जीतबहादुर श्रेष्ठ लगायतसंग भेटगरी अपाङ्गता रोकथाम तथा पुनःस्थापन सम्बन्धी नगरपालिकाले गरेको कार्यहरुको बारेमा जानकारी लिएका छन् । सियरालियोन र ईथियोपियामा अपाङ्गताको क्षेत्रमा काम गर्ने म्याक्स फाउण्डेशन, वान पर्सपेक्टिभ फाउण्डेशन र वान फेम्ली सियरालियोनका प्रतिनिधिहरुले यहाँको सिकाईलाई उनीहरुकोे देशमा अनुशरण गर्न उदेश्यले भ्रमण गरेको नगर प्रमुख लामाको सचिवालयले जानकारी दिएको छ ।

नगरपालिकाले अपाङ्गताको क्षेत्रमा गरेका कामहरुको विस्तृत जानकारी सहितको प्रस्तुतिकरण नगर महिला बालबालिका शाखा प्रमुख तथा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमकी फोकल पर्सन एञ्जेला ढकालले गरेकी थिईन् । साथै उक्त टोलिले नगर क्षेत्र भित्रका विभिन्न स्वास्थ्य संस्था र अपांगता भएका व्यक्तिहरुको घर सम्म पुगेर जानकारी लिएका थिए । भ्रमण टोलीका सदस्य वान फेम्ली सियरालियोनका अपरशेन डाईरेक्टर स्याम्युल मक्यौलीले नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापन सम्बन्धी गरेको कामबाट प्रभावित भएर यहाँको सिकाईलाई आफ्नो देशमा अनुशरण गर्न अध्ययनका लागि आएको बताएका छन् ।

चौदण्डीगढी नगरपालिकाले करुणा फाउण्डेशनसंगको सहकार्यमा अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता परिचय पत्र वितरण तथा अपाङता भएका ब्यक्त्हिरुको आबश्यक्ता पहिचान गरी कानसुन्ने मेशीन (हेयरिङ्ग एड), लठ्ठी, वाकर, बैशाखी लगायतका सहयोग सामाग्री वितरण गर्ने गरेको छ । यस्तै अपाङ्गता भएका ब्यक्त्हिरुलाई आबश्यक सिप सिकाएर आत्मनिर्भर बनाई समाजमा पुनःस्थापना गर्न सहयोग पुग्ने किसिमका कार्यक्रम पनि संचालन गर्ने गरेको छ ।