चौदण्डीगढीमा माघ २८ गतेदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभि खोप अभियान संचालन हुने ।

११ माघ  २०८१, सन्तोष कुमार रौनियार…

 

पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले उदयपुरको चौदण्डीगढी नगरपालिकामा यहि माघ २८ गतेदेखी फागुन १ गतेसम्म पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभि खोप अभियान संचालन गरिने भएको छ ।

नेपाल सरकारले माघ २२ गतेदेखी देशैभर बिद्यालयमा अध्ययरत कक्षा ६ देखी कक्षा १० सम्मका छात्राहरु तथा १० बर्षदेखी १४ बर्षसम्मका बिद्यालय बाहिर रहेका बालिकाहरुलाई ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा ह्युमन प्यामिलोमा भाइरसविरुद्धको (एचपीभी) खोप दिन लागेको छ । सोही अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिकामा पनि अभियान संचालन गरिन लागेको नगर स्वास्थ्य शाखाका उप प्रमुख हिमालय पौडेलले जानकारी दिएका छन् । उनले नगरको ३ हजारभन्दा बढी सो उमेर समुहका वालिका यसबाट लाभाम्वित हुने बताएका छन् । कक्षा ६ देखी कक्षा १० सम्म अध्यापन हुने सबै बिद्यालय र नगर अस्पताल सहित सबै स्वास्थ्य केन्द्र तथा खोप केन्द्रहरुबाट पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान संचालन गरिने जानकारी दिएका छन् ।

चिकित्सकका अनुसार ९ देखि १४ वर्ष उमेर समुहका बालिका यौनजन्य क्रियाकलापमा सक्रिय नहुने भएकोले यो भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । सानो उमेरमा लगाएको खोप बढी प्रभावकारी हुने चिकित्सकहरुको भनाई छ । मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीका अनुसार, नेपालमा क्यान्सरबाट हुने मृत्युमा पाठेघरको क्यान्सर प्रमुख कारण बन्दै गएको छ । डा. शाहीका अनुसार, ९५ प्रतिशत पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ । र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।