११ माघ २०८१, सन्तोष कुमार रौनियार…
लोक नृत्यहरुको प्रवद्र्धन गर्न चौदण्डीगढी नगरपालिकाको बेल्टारमा २ दिने नृत्य प्रशिक्षण कार्याशाला शुरु भएको छ । उदयपुर डान्स स्टुडियोको आयोजनामा बेल्टार बजारस्थित उद्योग बाणिज्य संघको हलमा आजदेखी २ दिने नृत्य प्रशिक्षण कार्याशाला शुरु भएको हो । चौदण्डीगढी नगरपालिका नगर प्रमुख कालुमान लामाले आज एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरेका छन् । बालबालिकाहरुलाई लोक नृत्यहरुलाई सिकाउने क्रममा भुमे नाच, डोकेनी नाच र संगिनी नाचको बारेमा जानकारी गराउने उदेश्यले कार्याशालाको आयोजना गरिएको उदयपुर डान्स स्टुडियोका प्रमुख प्रेमजंग किराँतीले जानकारी दिएका छन् । सहभागी बालबालिकालाई नृत्य निर्देशक तथा लोकनृत्य अनुसंधानकर्ता सुनिल थापाले प्रशिक्षण दिने किराँतीले बताएका छन् ।
कार्यशालाको उद्घाटन गर्दै नगर प्रमुख लामाले बिभिन्न जातजातीहरुको संस्कार संस्कृती फरक फरक रहेको उल्लेख गर्दै लोक नाचले त्यसलाई जगेर्ना गर्ने बताएका थिए । यस्तै पुर्व नगर प्रमुख खगेन्द्र राईले हाम्रो ठाँउका लागि यो नौलो प्रयास भएको बताउदै प्रशिक्षणले सहभागीहरुको प्रतिभा प्रस्फुटन गराउनमा मद्दत गर्ने बताएका थिए । यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले तालिम लिने तर त्यसलाई कार्यवन्यन नगर्ने प्रवृती रहेको जनाउदै सिकेको कुरालाई जीवन उपयोगी बनाउनुपर्ने बताएका थिए । उनले सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए । पशिक्षण कार्यशाला भोलीसम्म हुनेछ ।