०७ माघ २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा छैटौं संस्करणको “मेयर कप फुटबल प्रतियोगिता आजदेखी शुरु भएको छ । चौदण्डीगढी नगरपालिकाको संयोजन तथा नगर खेलकुद विकास समितिको आयोजनामा वडा नम्बर ६ सिर्वानीस्थित कालिका माविको खेल मैदानमा भएको उद्घाटन खेलमा वडा नम्बर ९ लाई टाइब्रेकरमा पराजित गर्दै वडा नम्बर ३ ले विजयी सुरुवात गरेको छ । निर्धारित समयको खेल एकएक गोलको बराबरी भएपछि खेलको नतिजा टाइब्रेकरबाट निर्धारण गरिएको थियो । जसमा वडा नम्बर ३ ले वडा नम्बर ९ लाई ४–३ गोल अन्तरले पराजित गरेको हो । यसअघि भएको खेलको पहिलो हाफ्को तेस्रो मिनेटमा वडा नम्बर ९ का सुशन पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको १६ औं मिनेटमा वडा नम्बर ३ का तर्फबाट नितन राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको पहिलो आफ् १–१ को बराबरी भएकोमा खेलको दोश्रो हाफ्मा दुबैतर्फबाट थप गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट निर्धारण गरिएको हो । जसमा वडा नम्बर ३ ले बाजी मारेको छ । आजको खेलमा म्यान अफ दी म्याच वडा नम्बर ३ का गोलरक्षक किरण राई घोषित भएका थिए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख कालुमान लामाले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर सबै वडाहरुलाई समेटे खेलकुद प्रतियोगिता संचालन गरिरहेको बताएका थिए । उनले सबै वडामा खेलकुद गतिविधि होस भन्नका लागि मेयर कपको आयोजना प्रत्येक बर्ष फरक फरक वडामा आयोजना गर्ने गरिएको बताएका थिए । त्यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष अम्बरबहादुर खड्काले शुभकामना मन्तव्य राखेका थिए ।
यस वर्षबाट नगर खेलकुद विकास समितिले मेयर कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई छनौट गरेर नगरको प्रतिष्ठित स्वर्गीय नारदमुनी थुलुङ्ग स्मृती फुटवल प्रतियोगितामा आयोजक टिम बसहा क्लबबाट खेलाउने जनाएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले उत्कृष्ट खेलाडी छनौटका लागि समिति निमार्ण गरिसकेको र समितिले छनौट गरेको नगरस्तरीय टिमलाई बसहा क्लबको तर्फबाट आगामी माघ १५ गतेबाट शुरु हुने १० औं संस्करणको स्वर्गीय नारदमुनी थुलुङ्ग स्मृती फुटवल प्रतियोगितामा सहभागी गराउने जानकारी दिएका छन् ।
आजबाट शुरु भएको मेयर कप फुटवल प्रतियोगिताको फाईलन खेल माघ १२ गते हुनेछ भने विजेताले नगद ५५ हजार रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र, त्यस्तै विजेताले नगद ३५ हजार रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । यस बाहेक बिद्यागततर्फ पनि उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उदयमान खेलाडी लगायतलाई पनि पुरुसकारको ब्यबस्था रहेको अध्यक्ष मगरले जानकाी दिएका छन् ।
