हडिया–ज्यामिरे, शिवनगर–इक्राहा जोड्ने त्रियुगा नदी र माडिवास खोलामा झोलुङ्गे पुल बन्ने ।

०३ माघ  २०८१, सन्तोष कुमार रौनियार…

प्रतिनीधि फोटो
प्रतिनीधि फोटो

चौदण्डीगढी नगरपालिकाको हडिया–ज्यामिरे, शिवनगर–इक्राहा जोड्ने त्रियुगा नदी र माडिवास खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । अर्थ मन्त्रालयले नगरको वडा नम्बर ९ स्थित हडिया ज्यामिरे जोड्ने त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माणका लागि ५ करोड ९१ लाख ५० हजार रुपैंया, वडा नम्बर १० स्थित शिवनगर इक्राहा जोड्ने त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माणका लागि १२ करोड र वडा नम्बर २ को माडिवास खोलामा झोलुङ्गे पुल निर्माणका लागि ३ करोड ९२ लाख १० हजार रुपैया श्रोत सुनिश्चित गरेपछि झोलुङ्गे पुल निर्माण हुने भएको हो । झोलुङ्गे पुल निर्माण पश्चात चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टार बजार नगरको अन्य वडासंग सिधा जोडिने भएको छ । बर्खायाममा टापुको रुपमा रहने गरेको वडा नम्बर ९,१० को हडिया र वडा नम्बर २ को माडीबास क्षेत्रमा झुलुङ्गे पुल निमार्ण हुने सुनिस्चता भएसंगै ती क्षेत्र नगरकै ब्यापारिक तथा प्रशासनिक केन्द्र बेल्टारसंग जोडिने भएको हो ।

हिजो अर्थ मन्त्रालयले झोलुङ्गे पुल निर्माणका लागि श्रोत सुनिश्चित गरेको जानकारी दिदै चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आफुले स्थानीय चुनावको वेला झोलुङ्गे पुल निर्माण गरेर भएनी नगरबासीलाई नगरको केन्द्र बेल्टार बजारसंग जोड्ने भनेर गरेको वाचा पुरा हुने बताएका छन् । उनको हाल ती पुलहरुको डिपिआरको लागि बजेट सुनिश्चित भैसकेकोले तत्कालै डिपिआरको काम शुरु हुने र डिपिआर सम्पन्न भएपछि ठेक्का लाग्ने बताएका छन् । आफ्नै कार्यकालमा यि क्षेत्रमा झोलुङ्गे पुल निर्माण हुने नगर प्रमुख लामाले दावी गरेका छन् । उनले वडा नम्बर ५ कै सुन्दरपुर र ढेलाचौरी जोड्न त्रियुगा नदीमा अर्को झोलुङ्गे पुल निर्माणका लागि पहल गरिरहेको जानकारी दिदै अर्को आर्थिक बर्षमा त्यसलाई बजेटमा समेटिनेगरी कार्य गरिरहेको बताएका छन् ।

एता ३ बर्षअघि त्रियुगा नदीमा आएको बाढीले भत्काएको वडा नम्बर ५ को सिवाई र बेलहा जोड्ने मोटरेवेल पुल पुनःनिमार्ण नहुने जानकारी दिदै नगर प्रमुख लामाले त्यसको विकल्पको बारेमा पनि छलफल गरिरहेको बताएका छन् । उनले अहिले संघिय सरकारले ठेक्का तोड्ने प्रक्रियामा रहेको जानकारी आफुले पाएको बताउदै त्यसपछि उपयुक्त विकल्पमा कार्य गर्ने जनाएका छन् । यी पुलहरुको निमार्ण सम्पन्न भएसंगै सबै वडा नगरको केन्द्रसंग जोडिने उनले बताएका छन् ।