चौदण्डीगढी नगरपालिकामा सहकारीको अनुगमन तिव्र / १४ सहकारी खारेजीको प्रक्रियामा ।

०२ माघ  २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाले नगरमा संचालित सहकारी संस्थाहरुको अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो समय देशैभर संचालित सहरकारीहरुमा समस्या देखिरहेको अबस्थामा चौदण्डीगढी नगरपालिकाले नगरमा संचालित सहकारी संस्थाहरुको अनुगमनलाई तीव्र बनाएको हो । संचालक र कार्यालय नै फेला नपरेपछि नगरमा संचालित ६० वटा सहकारीमध्ये १४ वटा समस्याग्रस्त सहकारीको दर्ता खारेजीको प्रक्रियामा रहेको जानकारी दिदै नगरपालिकाको सहकारी शाखा प्रमुख बविता परियारले अन्य सहकारीहरुलाई पनि अनुगमनको दायरामा ल्याएको बताएकी छिन् ।

आज मात्रै प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर श्रेष्ठ नेतृत्वको अनुगमन टोलीले वडा नम्बर १० स्थित युनिक वचत तथा ऋण सहकारी संस्था र मालती कृषी सहकारी संस्थाको अनुगमन गरेको छ । अनुगमनका क्रममा सहकारीको खाता तन्दुरुस्त नदेखिएको, सहकारीको शेयर सदस्य नै नभएका ब्यक्तिहरुले वचत गरेको तथा ऋण लिएको, वचतभन्दा धेरै ऋण लिएको, बचतकर्तालाई नगदी रसिद नदिने गरिएको, शेयरको रेकर्ड राम्रोसंग नराख्ने जस्ता विकृती देखिएको परियारले बताएकी छिन् । उनले यस्ता बिषयमा सुधारका लागि सहकारी संचालकहरुलाई निर्देशन दिएको बताएकी छिन् ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले देशैभर सहकारीमा समस्या देखिएको हुनाले चौदण्डीगढी नगरपालिकामा संचालित सहकारीमा समस्या नदेखियोस् भन्नका लागि प्रारम्भिक चरणको अनुगमन गरिएको बताउदै सुधारका लागि निर्देशन दिइएको बताएका छन् । उनले अनुगमन निरन्तररुपमा गरिने भएको हुनाले सुधार नदेखिएका सहकारीहरुलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् । नगरपालिकाले अहिलेसम्म ८ वटा सहकारीको अनुगमन गरिसकेको छ भने अन्य सहकारीको पनि क्रमिकरुपमा अनुगमन गरिने जनाएको छ ।