चौदण्डीगढी नगरपालिका वडा नं. १ द्वारा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरणका लागि घरदैलो अभियान संचालन ।

२४  पुष २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरणका लागि घरदैलो अभियान संचालन गरेको छ । वडा नम्बर १ ले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरणका लागि घरदैलो अभियान संचालन गर्ने एक मात्र वडा हो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न लाभग्राहीको फिंगर प्रिन्टसहितको डाटा चाहिने भएपछि वडाले पुष २१ गतेदेखी वडाको सबै गाँउ र टोलहरुलाई समेटेर घरदैलो अभियान संचालन गरेको हो ।

वडा सचिव भोजराज अधिकारीको सक्रियतामा वडाको कटहरबोटे, तुर्लुङ्गटार, कंचनपुर, छुईला, रानीटार, चारघरे लगायतका स्थानका बासिन्दाहरुको घर–घर मै गएर सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरण भैरहेको छ । भौगोलिक अबस्थाका कारण विकट रहेको वडा नम्बर १ का बासिन्दाहरुलाई वडा कार्यालयमा आउनुपर्दा झण्डै २ हजार रुपैयाँभन्दाबढी खर्च लाग्ने तथा यातायातको साधन सहजरुपमा उपलब्ध नहुने भएकोले ज्येष्ट नागरिकहरुलाई कठिनाई हुने देखिएपछि वडाले घरदैलो अभियान संचालन गर्ने निर्णय गरेको वडा सचिव अधिकारीले बताएका छन् ।

पुष २१ गतेदेखि शुरु भएको अभियान अन्तर्गत कटहरबोटे, तुर्लुङ्गटार, कंचनपुर र छुईलामा प्रमाणिकरणको कार्य सम्पन्न भएको र भोली विहिवार बिहान रानीटार , शुक्रवार बेल्टार वगरकोट , आईतवार चारघरे र शारदामावी कटहरेमा प्रमाणिकरणको कार्य गरिने जानकारी वडा सचिव अधिकारीले दिएका छन् । वडामा ४३८ जना सामाजिक सुरक्षा भत्ता लाभग्राही रहेको र अहिलेसम्म तुर्लुङ्गटार र कटहरबोटेमा घरदैलो सेवा कार्यक्रम अन्तर्गत वेलका नगरपालिका वडा नं. ५ का ३ जना सहित ४४ जना र छुईला तथा कञ्चनपुरमा घरदैलो सेवा कार्यक्रम अन्तर्गत ५५ जना लाभग्राहीको प्रमाणिकरण गरिएको उनले बताएका छन् । ९० वर्ष माथिको ज्येष्ट नागरिक, १६ वर्ष मुनिका बालबालिका र रातो कार्ड भएका अपाङ्गता भएका ब्यक्तिले फिंगरप्रीन्ट प्रमाणिकरण गराउन आबश्यक नरहेको र त्यस्तो संख्या वडामा ६८ जना रहेको वडा सचिव अधिकारीले बताएका छन् ।

सामाजिक सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरणका लागि भत्ता कार्डको सक्कल र राष्ट्रिय परिचयपत्र सम्बन्धी आवेदन रुजु फारम आबश्यक पर्ने उनले जानकारी दिएका छन् । फिंगरप्रीन्ट प्रमाणिकरण गर्दा केही लाभग्राहीको औलाको चक्र नदेखिने तथा केहीको राष्ट्रिय परिचयपत्र सम्बन्धी डाटा फेला नपर्ने समस्या भैरहेको पनि वडा सचिव अधिकारीले बताएका छन् ।